
सरकारले आउदै गरेको दशै तिहार जस्ता चाडपर्वलाई मध्यनजर गरेर अन्तर जिल्ला र लामो दूरीका यातायातका साधन असोज १ देखि सञ्चलनमा ल्याउने निर्णय गरेको छ ।
आइतबार बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिएका छन् ।
यसअघि भदौ १६ गतेदेखि अन्तर जिल्ला र लामो दूरीका यातायातका साधन सञ्चालन गर्ने निर्णय भएको भएपनि कोरोनाको जोखिम कायमै रहेकाले असोज १ गतेसम्मका लागि सारिएको खतिवडाले बताए ।
यस्तै आन्तरिक हवाइ उडान पनि असोज १ देखि नै सञ्चालनमा आउने उनले बताए ।सरकारले पहाडका केही जिल्लामा हवाई उडानका लागि यसअघि नै निर्णय गरेको थियो ।