अस्पताल चहार्दाचहार्दै भरतपुर अस्पताल पुगेका तीन जनाको मृत्यु

मनोज पोखरेल

१६ भाद्र २०७७, मंगलवार
प्रतिनिधिमूलक तस्वीर

चितवनका सबै अस्पताल पुगेर भरतपुर अस्पताल पुगेका तीन कोरोना सङ्क्रमित सोमबार मृत्यु भएको छ ।

जिल्लाका मेडिकल कलेज र अस्पतालले आइसीयू अभाव भएको र पिसीआर परीक्षण गर्नुपर्ने भन्दै अन्तिम अवस्थामा भरतपुर अस्पताल पठाएका उनीहरुको अस्पताल पुगेको केही समयमै मृत्यु भएको हो ।

अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार मृत्युपछि तीनै जनाको स्वाब सङ्कलन गरेर परिक्षण गर्दा उनीहरुमा कोरोना सङ्क्रमण देखिएको छ । राति अबेर उनीहरूमा कोरोनाले संक्रमण भएको रिपोर्ट आएको थियो ।

भरतपुर अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा जगन्नाथ तिवारीका अनुसार मृत्यु भएका तीनै जनामा कडा निमोनिया देखिएको थियो । बिहान ७ बजे अस्पताल ल्याइपुर्याएकी खैरहनी नगरपालिका–१३ की ५५ वर्षीया महिलाको दिउँसो १ बजे आकस्मिक कक्षमै मृत्यु भएको हो । दुवै मेडिकल कलेज पुर्याए पनि भर्ना नलिएपछि ती महिलालाई भरतपुर अस्पताल ल्याइएको उनका आफन्तले बताएको तिवारीले जानकारी दिए ।

त्यसैगरेर भरतपुर–११ का ६५ वर्षीय पुरुषको चितवन अस्पतालमा एक्सरे गरेपछि भरतपुर अस्पताल पठाइएको थियो । दिउँसो २ः३० बजे भरतपुर अस्पतालको आकस्मिक कक्षमा आइपुगेका उनको ३ बजे मृत्यु भएको तिवारीले बताए ।उनले भने, 'चितवन अस्पतालले एक्सरे गरेपछि पिसीआर परीक्षण गर्नुपर्छ भनेर पठाएको रहेछ । हेर्दाहेर्दै बिरामीको मृत्यु भएको हो ।'

यसैगरि भरतपुर–११की १८ वर्षकी युवती सबै परीक्षणपछि नारायणी सामुदायिक अस्पतालले भरतपुर अस्पताल पठाएको थियो ।डा. तिवारीका अनुसार दिउँसो १ बजेतिर भरतपुर अस्पताल ल्याएकामा उनको ३ बजे मृत्यु भएको हो । गम्भीर बिरामी सामुदायिक अस्पतालमा सिटिस्क्यानदेखि सबै परीक्षण गरेर सघन उपचार कक्ष खाली नभएको भन्दै बिरामीका आफन्तले मेडिकल कलेजमा लगेको भए पनि आईसीयू नभएको भनेर फिर्ता गरेपछि भरतपुर अस्पताल आइपुगेको तिवारी बताउँछन् ।

भरतपुर अस्पतालमा भएका २० वटै सघन उपचार कक्षमा बिरामी छन्। उपचार नपाएपछि सोमबार बिहान पनि एक जनाको मृत्यु भएको थियो ।

स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपकबाबु तिवारीका अनुसार जिल्लामा ५० शय्यामाथिका १९ वटा अस्पताल छन् । दुई ठूला मेडिकल कलेजसहित सबै अस्पतालमा गरेर १७६ सघन उपचार कक्ष र ५० भेन्टिलेटर शय्या छन् । आइसोलेसन शय्या सङ्ख्या झण्डै ३०० रहेका छन् । केही एनआइसीयू र पीआइसीयू पनि छन् । जिल्लामा ५०० चिकित्सक, एक हजार ५०० नर्स, करिब ४०० पारामेडिक्स र ल्याबमा काम गर्ने जनशक्ति ३५० हाराहारीमा छ तर जटिल उपचारका लागि अहिले भएको जनशक्ति कम भएको तिवारी बताउछन् । उनका अनुसार अहिले भएको जनशक्ति र पूर्वाधार चाहिने भन्दा कम रहेको बताउँछन् । उनले भने 'कम्तिमा २०० आइसीयू र ८० भेन्टिलेटर यहाँको न्यूनतम आवश्यकता हो ।'