इलामका चिया उत्पादक किसान आन्दोलित

१६ भाद्र २०७७, मंगलवार

चियाको उचित मूल्य नपाएको भन्दै इलामका किसान आन्दोलित भएका छन् । स्थानीय तहले तोकेको न्यूनतम मूल्यसमेत नपाएको भन्दै इलाम सूर्योदय नगरपालिकाका चिया किसान आन्दोलित भएका हुन् । संघर्ष समिति नै बनाएर किसानहरू आन्दोलनमा आएका उनीहरुले सोमबार जिल्ला प्रशासन कार्यालय पुगेर यसअघि भएका सम्झौता कार्यान्वयन गरिदिन सहायक प्रमुख जिल्ला अधिकारी मोहन न्यौपाने समक्ष लिखित मागपत्र पेश गरेका छन् ।

सूर्योदय नगरपालिकाले चिया उद्योगी र किसानसँगको छलफलपछि गएको वर्ष नै हरियो चियापत्तीको न्यूनतम मूल्य प्रतिकिलो ४० निर्धारण गरेको थियो । यद्यपि सो रकम घटाएर हाल २० देखि ३० मात्र चिया उद्योगले दिएकोले आफूहरु आन्दोलनमा उत्रिनुपरेको चिया किसान आन्दोलन समितिका संयोजक सोनाम छिरिङ काजी (ज्ञानी)ले बताए ।

एक किलो चिया बराबर किसानको ३७.५ खर्च हुने गरे पनि वर्षकै सुरुमा उत्पादन भएको चियाको मूल्य यसरी घटाउदा किसान मारमा परेको उनको भनाइ छ । उद्योगले चियाको उचित मूल्य नदिए आफ्नो हरियो चियापत्ती नै भए पनि फिर्ता गर्न उनीहरूले माग गरेका छन् ।

अन्य किसानले ल्याएको र उद्योगी आफ्नै बगानको भए पनि हरियो चिया फिर्ता गर्नुपर्ने उनीहरुको माग छ । नभए उद्योगले प्रशोधन खर्च कटाएर तयारी चिया नै भए पनि फिर्ता दिनुपर्ने उनीहरुले माग राख्दै आएका छन्।

इलामको चिया जर्मनी अमेरिका लगायतका देशमा निर्यात हुनेगरेको छ । विश्व बजारमा इलामको चियाको माग उच्च रहेको छ । आम्दानीको स्रोत चिया मात्रै भएका किसानहरू यसरी लगानी नै नउठेपछि मारमा परेका छन् ।