उपत्यकाका तीन प्रजिअहरूको आज बैठक बस्दै, निषेधाज्ञा सम्बन्धि निर्णय गराउन गृहमन्त्रालयलाई प्रस्ताव गरिने

१६ भाद्र २०७७, मंगलवार

काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको आज भर्चुअल बैठक आज बस्दैछ । भाद्र ४ गतेदेखि समय थप गरेर उपत्यकाका तीन जिल्लामा जारी निषेधाज्ञाको समय लम्बाउने या नलम्बाउने भन्नेबारेमा आज तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी(सिडियो)हरूको बैठक पछि निर्णयका लागि गृहमन्त्रालयलाई सिफारिस गर्ने सम्बन्धमा आज बैठक बस्ने भएको हो ।

मंगलबार काठमाडौंका प्रजिअ जनकराज दाहाल, ललितपुरका प्रजिअ नारायणप्रसाद भट्ट र भक्तपुरकी प्रजिअ हुमकला पाण्डेले भर्चुअल मिटिङ बसेर सुझावसहितको निर्णय गृहसचिव महेश्वर न्यौपानेलाई पठाउने तयारी गरेका छन् ।

‘हामी तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले छलफल गरेर निषेधाज्ञाबारे साझा धारणा बनाउँछौं ।’ काठमाडौंका प्रजिअ जनकराज दाहालले भने ‘हामीले बैठक बसेर गृहमन्त्रालयमा रायका लागि पठाउने र गृहको सुझावपछि हामी भोलि पुन: बैठक बसेर निषेधाज्ञाबारे निर्णयमा पुग्छौं ।’

तीनवटै प्रशासनले निषेधाज्ञालाई निरन्तरता दिने नदिनेबारे आ–आफ्ना जिल्लाका स्थानीय तह, स्वास्थ्य कार्यालयसहित स्वास्थ्य मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलगायत सरोकार निकायसँग लिखित राय लिइसकेका छन् । उद्योग मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड अपनाएर उद्योग कलकारखाना सञ्चालन गर्नुपर्ने राय दिएको छ । तर, स्थानीय तहहरुले अझै केही साता निषेधाज्ञालाई निरन्तरता दिनुपर्ने सुझाव दिएका छन् ।

आजको बैठकबाट रायका लागि गृहमन्त्रालयलाई पठाउने र त्यसपछि भोली १२ बजे रातिदेखि सकिने निषेधाज्ञा लम्बाउने वा नलम्बाउने भन्नेबारेमा निर्णय हुनेछ । भाद्र ४ देखि १० गतेसम्म जारी गरेको निषेधाज्ञाको समय थपेर भाद्र १७ सम्म लम्बाइएको थियो ।