झापामा अवैध सामानसहित आधा दर्जन तस्कर पक्राउ

१६ भाद्र २०७७, मंगलवार

भारतको ओरियन्स कम्पनीको अवैध कारोबार गर्ने ६ जना झापामा पक्राउ परेका छन् ।
सात लाख ७६ हजार रूपैयाँ बराबरको सामानसहित मोरङको कटहरी गाउँपालिका-७ का २३ वर्षीय सुनिल विश्वास, मोरङकै ग्रामथान गाउँपालिका-६ का २५ वर्षीय लक्ष्मण माझी, सोही ठाउँका २३ वर्षीय सुरजकुमार चौधरी, सोही गाउँपालिका-७ का २५ वर्षीय दीपक सिंह, सुनसरीको इटहरी उपमहानगरपालिका-१८ का २८ वर्षीय नगेन्द्र चौधरी र २६ वर्षीय शिवराम चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक राकेश थापाले बताए । उनका अनुसार अभियुक्तहरूका साथबाट चोरी पैठारीमा प्रयोग गरिएका तीन ओटा मोटरसाइकल र वीटग्रास डायट्री सप्लिमेन्ट ६० क्याप्सुल लेखिएका ३०७ वटा बट्टा औषधि इलाका प्रहरी कार्यालय झिलझिलेले बरामद गरेको हो । यससँगै पचास लाख रुपैयाँ मूल्य बराबरको अवैध सामान बरामद गरेको जिप्रका झापाले जनाएको छ ।।।