प्रहरीको कुटाईबाट एकको मृत्यु, तीन प्रहरी निलम्बित

मनोज पोख्रेल

१६ भाद्र २०७७, मंगलवार

रौतहटका वर्षीय विजय महराको प्रहरीको यातनाबाट मृत्यु भएपछि गृह मन्त्रालयले तीनजना प्रहरीलाई निलम्बन गरेको छ ।

गत साउन ३१ गते राति गरुडा नगरपालिका वडा नम्बर ८, बसविट्टी जिंगडिया निबासी २० वर्षीय निरन्जन रामलाई घाँटी रेटी हत्या गरेको आरोपमा पक्राउ परेका महरालाई ती तीनै जना प्रहरीले यातना दिएको र यातनाकै कारण उनको मृत्यु भएको आरोपमा गृहमन्त्रालयले निलम्बन गरेको हो ।

गृहमन्त्रालयको सचिवस्तरिय निर्णयबाट जिल्ला प्रहरी कार्यालय रौतहटमा कार्यरत एकजना प्रहरी निरीक्षक र प्रदेश नम्बर २ प्रहरी कार्यालयबाट दुई जना प्रहरी हवल्दारलाई निलम्बन गरिएको हाे ।

 

Picture source:News24

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक रविराज खड्काका अनुसार महरालाई हिरासतमा सोधपुछका क्रममा जिल्ला प्रहरी कार्यालय रौतहटमा कार्यरत प्रहरी निरीक्षक नविन कुमार सिंह, प्रहरी हवल्दार फिरोज मियाँ धुनिया र प्रहरी हवल्दार मुन्ना कुमार सिंह संलग्न थिए ।

प्रहरी निरीक्षक सिंहलाई प्रहरी निमावली २०७१ नियम ११५ को देहाय (४) बमोजिम थप अनुसन्धान तथा जाँचबुझ समाप्त नहुन्जेलसम्मको लागि निलम्बन गरिदिनका लागि जिल्ला प्रहरी कार्यालय रौतहटले गृह मन्त्रालयको भदौ १५ गतेको सचिवस्तरीय निर्णयानुसार निलम्बन गरिएको तथा प्रहरी हवल्दारद्वय मियाँ धुनिया र मुन्ना कुमार सिंहलाई २ नं.प्रदेश प्रहरी कार्यालय जनकपुरधाम, धनुषाको भदौ १५ को पत्रबाट ६ महिनाको लागि निलम्बन गरिएको हाे ।