सन्दिपले राम्रो प्रदर्शन गरेपनि जमैकाको हार

१७ भाद्र २०७७, बुधबार

 

जमैका तल्लावाज र ट्रिनबागो नाइट राइडर्स बीच भएको क्यारेबियन प्रिमियर लिग-सीपिएल क्रिकेटको मङ्गलबार राती भएको खेलमा ट्रिनबागोले जमैकालाई हराएको छ । यो सिजनको सानदार प्रदर्शन भएको खेलमा ट्रिनबागोले १९ रनले जमैकालाई हराएको छ ।

पहिला ब्याटिङ गरेको ट्रिनबागोले निर्धारित २० ओभरमा चार विकेट गुमाएर एक सय ८४ रन बनाउन सफल भएको थियो । ट्रिनबागोका कोलिन मुन्रोले सर्वाधिक ५४ बलमा ६५ रन जोड्न सफल भएका थिए । त्यस्तै कायरन पोलार्डले १६ बलमा ३३ रन, सुनिल नारायनले ११ बलमा २९ रन बनाएका थिए भने लेन्डल सिमोन्सले पनि २५ रन जोड्न सफल भएका थिए ।

जमैकाका कार्लोस ब्राथवैटले दुई तथा सन्दीप लामिछाने र फिडेल एडवार्ड्सले एक एक विकेट लिन सफल भएका थिए। सन्दीपले चार ओभरमा २० रन खर्चिएका थिए भने प्रतियोगिताको यो सिजन उनले कुल १० विकेट लिएका छन्।

१८४ रनको विशाल लक्ष्य पछ्याएको जमैकाले पहिलो बलमा नै एक विकेट गुमाएको थियो तर जमैकाले निर्धारित २० ओभर खेल्दै ६ विकेट गुमाएर एक सय ६५ रन मात्र जोड्न सक्यो । जमैकाका कप्तान आन्द्रे रस्सेलले २३ बलमा चार छक्का र पाँच चौकासहित ५० रन जोडेका थिए। त्यस्तै कार्लोस ब्राथवैटले २६ र ग्लेन फिलिप्सले ४१ रन बनाएका थिए। ब्राथवैट र रस्सेलबीच ५.५ ओभरमा ६८ रनको साझेदारी भएको थियो ।

ट्रिनबागोका बलर फावद आलमले दुई तथा ड्वेन ब्राभो, सुनिल नारायन, अकियल हुसेन र खेरी पायरले एक एक विकेट लिएका थिए ।

साथै यो खेलसगै ७ खेलबाट १४ अंक जोडेको ट्रिनबागो सेमिफाइनलमा पुगिसकेको छ भने जमैकाले ७ खेलबाट ६ अंक जोडेर तालिकाको चौथो स्थानमा छ। पाँचौँ स्थानमा रहेको बार्बाडोस ट्राइडेन्ट्सको सात खेलबाट चार अंक छ। शीर्ष चार टोली सेमिफाइनलमा पुग्नेछन्।