गत २४ घण्टामा विश्वका २ लाख ५६ हजारभन्दा बढी व्यक्ति संक्रमित

१७ भाद्र २०७७, बुधबार

कोरोना भाइरसको संक्रमण विश्वभर बढ्दो क्रममा रहेको छ । पछिल्लो चौबीस घण्टामा मात्र विश्वभर नयाँ संक्रमितको संख्या दुई लाख ५६ हजार नौ सय नाघेको छ । यससँगै विश्वमा संक्रमितको कुल संख्या दुई करोड ५८ लाख ८९ हजारभन्दा बढी हुन पुगेको छ । जसमध्ये निको हुनेको संख्या एक करोड ८१ लाख ७१ हजारभन्दा बढी भएको छ भने आठ लाख ६० हजारभन्दा बढीको संक्रमणकै कारण मृत्यु भएको छ ।
संक्रमितको संख्याबारे जानकारी दिने वेबसाइट वर्ल्डोमीटर्स डट इन्फोको तथ्यांक अनुसार पछिल्लो चौबीस घण्टामा भारतमा सबैभन्दा बढी संक्रमण देखिएको छ। त्यहाँ संक्रमितको संख्या ७८ हजार एक सयभन्दा बढी रहेको छ भने दोस्रो स्थानमा रहेको ब्राजिलमा पछिल्लो चौबीस घण्टामा संक्रमितको संख्या ४१ हजार आठ सयभन्दा बढी हुन पुगेको छ । साथै तेस्रो स्थानमा रहेको अमेरिकामा चौबीस घण्टाभित्र ४० हजार आठ सयभन्दा बढी व्यक्तिमा संक्रमण फैलिएको सो वेबसाइटले उल्लेख गरेको छ ।।।