विराटनगरमा व्यापारीबाट रकम असुल्ने भारतीयसहित पाँच जना पक्राउ

१७ भाद्र २०७७, बुधबार
तस्विर्: हाम्रोमत

मोरङको विराटनगरका व्यवसायीलाई धम्क्याएर रकम असुली गरेको आरोपमा एक भारतीयसहित पाँच जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा जिल्लाको कटहरी गाउँपालिका-२ आदर्शनगर बस्ने २८ वर्षीय एलेक्स भनिने रविन शर्मा, सोही ठाउँका २६ वर्षीय किसन साह,२७ वर्षीय अभिषेक राय, सप्तरीको बोदेबर्साइन बस्ने २७ वर्षीय नन्दु भनिने नन्दकिशोर साहित्य र भारतको सीतामढी घर भई विराटनगरको जलजलामोडस्थित चाइना बजारमा काम गर्ने २७ वर्षीय राजु साह रहेको मोरङ जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोष खड्काले बताए ।

उनीहरूका साथबाट अटोमेटिक पेस्तोल र त्यसमा प्रयोग गरिने तीन थान गोली, १६ थान मोबाइल, दुई थान भारतीय बैंकको चेक, एक थान चक्कु, ९७ हजार दुई सय बीस रूपैयाँ नगद र तीन ओटा मोटरसाइकल बरामद गरेको प्रहरीले जनाएको छ । उनीहरुउपर हातहतियार तथा खरखजाना, आपराधिक लाभ र चोरी तथा संगठित अपराध मुद्दा दायर गरी म्याद थप गरी अनुसन्धान सुरु गरेको प्रहरीको भनाइ छ ।