लाचारी सरकार- बङ्गलादेशसित मल पैँचाे माग्दै

१७ भाद्र २०७७, बुधबार
तस्वीर- राताेपाटी

विराटनगर । भदाै १७

अहिले देशमा टड्कारो समस्याको रुपमा रहेको रासायनिक युरिया मलको अभाव टार्न नसकेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले बंगलादेशसँग मल पैंचो मागेका छन् ।

उनले मंगलबार बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेदसँग टेलिफोन गरेर मल पैंचो मागेका हुन् । ओलीले ५० हजार टन युरिया मल पैंचोमा दिन समकक्षी हसिनासँग आग्रह गरे । मल दिने कुरामा आफू विश्वस्त रहेको समेत उनले बताएका छन् ।

खेतीपातीको मुख्य समयमै रासायनिक मल अभाव भएपछि किसानले सरकार असफल भएको भन्दै कृषिमन्त्री घनश्याम भुसालको तत्काल राजीनामा माग गर्दै आइरहेका छन् । चाहिने बेलामा नै मल नपाएपछि यसपटकको खेती सोचेजस्तो राम्रो नहुने कृषिविदहरू बताउँछन् ।

यसअघि ३० रुपैयाँ प्रतिकेजी मूल्यमा पाइने मल काला बजारियासँग ७० रुपैयाँ प्रतिकेजी तिर्दा पनि नपाएको किसानहरूको गुनासो छ । सरकारले काला बजारियालाई नियन्त्रण र आफ्नै उत्पादन तयार पार्न नसक्दाको परिणाम अन्य राष्ट्रसँग मल पैंचो माग्ने स्थितिमा पुगेको हो ।

प्रधानमन्त्री ओलीको आग्रहलाई समकक्षी हसिनाले सकारात्मक रूपमा लिएको दुई देशका प्रधानमन्त्रीबीचको वार्तापछि परराष्ट्र मन्त्रालयले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।