आजदेखि साेह्रश्राद्ध सुरु, अनलाइन श्राद्धबारे विज्ञहरूले गरे विराेध

१७ भाद्र २०७७, बुधबार

विराटनगर । भदाै १७

हिन्दुहरूको प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि सुरु भएको छ। दिनको अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण, सिधादान र पिण्डदान गर्ने परम्परा छ ।

आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवंगत आफ्ना पितृलाई सम्मानका साथ तर्पण, सिधादान र पिण्डदान गरिने भएकाले यो पक्षलाई पितृ पक्ष एवं सोह्रश्राद्धसमेत भन्ने गरिएको हो । पितृ पक्षको पहिलो दिन आज प्रतिपदा तिथिको श्राद्ध गरिन्छ ।

लकडाउनको समस्या खेपिरहेका अवस्थामा श्राद्ध गराउन हिँड्नै पर्ने बाध्यतामा पुरोहितहरू परेका छन् तर प्रहरी प्रशासनले भने यिनीहरूमा अङ्कुश लगाउन कतिपय ठाउँमा विज्ञप्ति नै जारी गरेको छ।

अनलाइन विधिबाट श्राद्ध गर्न प्रशासनले आग्रह गरेपनि यसबाट संभव नहुने एकजना पुरोहितले बताए । यजमानका घरमा पुरोहित स्वयं उपस्थित भएर गर्नुपर्ने श्राद्धमा अनलाइन विधि उपयुक्त नहुने उनको राय छ।

उनी थप्छन् – अनलाइन श्राद्ध कर्मकाण्डको विकृत अनुहार हो। श्राद्ध गर्न नसके अरू विधान पनि छन्। महामारी आयो भनेर आफ्ना रीति थिति नै छाड्ने भन्ने हुँदैन। कोरोना लागिहाल्यो र मर्यो भने पनि हाम्रा परम्परामा श्राद्ध नगरी क्रियाकर्म हुँदैन। सम्भव भएसम्म सुरक्षित बनी यजमानका घरैमा जाऊँ होइन भने यस्ता दुस्प्रचार नगरौं।

हिन्दुहरूको आस्थाको पवित्र पक्ष सोह्रश्राद्ध बारे हचुवाका भरमा गरिएको नियमन मान्य नहुने पुरोहितहरूको तर्क छ।

मान्छे मरेपछि गरिने क्रियाकर्म विज्ञानसम्मत हुनाले श्राद्ध पनि सोही अनुरूप रहेको धर्मशास्त्रहरूमा उल्लेख छ। कसैको क्रियाकर्म नगरिएको भए ऊ वायु स्वरूप बनेर परिवारमा दुःख दिने तथा प्रेत बनेर डुलिरहने बताइन्छ।

जनास्थाका कुरामा प्रशासनले बोलिहालाने र सामाजिक सद्भावमा दखल पुग्ने गरी सूचनाहरू जाहेर हुनु दुःखद् रहेको पुरोहितहरूको गुनासो छ।