झापामा घाँटी रेटेर एक व्यक्तिकाे हत्या

१७ भाद्र २०७७, बुधबार
प्रतिनिधिमूलक तस्वीर

विराटनगर । भदाै १७

झापाको शिवसताक्षी बजारबाट एक किलोमिटर उत्तर रतुवामाई वृक्षारोपण आयोजनाको जंगलमा एक जना पुरुषको शव भेटिएको छ । मङ्गलबार घाँटी छिनेको अवस्थामा स्थानीय २८ वर्षीय गोमान मगरको शव भेटिएको हो ।

जिल्ला प्रहरी कार्यालय, झापाका प्रमुख एसपी कृष्णप्रसाद कोइरालाका अनुसार मगरको शवलाई पोष्टमार्टमका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाइएको छ ।

‘प्रारम्भिक जाँचमा घाँटी काटिएको पाइएको छ, अन्य चोटपटकबारे पोष्टमार्टमपछि नै थाहा होला’, कोइरालाले बताएका छन्।

प्रहरीका अनुसार मगर वैदेशिक रोजगकारीका लागि बहराइन गएर केही महिनाअघि मात्र घर फर्किएका थिए । एक जना साथीले बोलाएपछि मंगलबार साँझ साढे ६ बजे घरबाट निस्किएका थिए ।

प्रहरीले घटनास्थलबाट एउटा मोटरसाइकल पनि बरामद गरेको छ । त्यसैले दुवै जना मोटरसाइकलमा त्यहाँसम्म पुगेको हुनसक्ने अनुमान गरिएकोछ ।

अहिले अनुसन्धानका लागि प्रहरीले संघीय प्रहरी इकाइ कार्यालय, धरानबाट तालिमप्राप्त कुकुरलाई घटनास्थलमा ल्याएको छ भने अनुसन्धानमा सहयोगका लागि १ नं. प्रदेश प्रहरी कार्यालयबाट पनि एउटा टोली शिवसताक्षीमा छ । घटनाबारे अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ।