कोरोना संक्रमणको तेस्रो चरण सुरु हुँदै गएकाेमा चिन्ता

मनाेज पाेख्रेल

१७ भाद्र २०७७, बुधबार

विराटनगर । भदाै १७

कोरोनाको संक्रमण समुदायस्तरमा फैलिएर तेस्रो चरणमा प्रवेश भएको हो वा होइन भन्नेबारेमा अध्ययन गर्ने भएको छ । कोरोनाको सङ्क्रमण सबै समूहका मानिसमा देखिरहेको र ट्राभल हिस्ट्रीमा नदेखिएका व्यक्तिमा पनि सङ्क्रमण देखिन थालेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले तेस्रो चरणमा प्रवेश गरेको हो वा होइन भन्ने अध्ययन गर्न थालेको हो ।

नेपाल अहिले संक्रमणको दोस्रो चरण रहेको छ । सङ्क्रमित भएको व्यक्तिसंगको सम्पर्कमा आएका व्यक्तिमा सङ्क्रमण सर्नुलाई दोस्रो चरण मानिन्छ । गत चैतमा विदेशबाट कैलाली घरमा आएका एक जनामा व्यक्तिबाट घरकै रहेका अर्को स्थानीय व्यक्तिमा सङ्क्रमण सरेपछि मन्त्रालयले नेपालमा दोस्रो चरणमा प्रवेश गरेको घोषणा गरेको थियो । संक्रमणको तेस्रो चरण भनेको समुदायमा संक्रमण फैलिसकेको अवस्था हो ।

महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले अहिले ठूलो सङ्ख्यामा सबैमा सङ्क्रमण देखिन थालेपछि समुदायमा नै सङ्क्रमण फैलिएको कि भनेर अध्ययन गर्न थालिएको जानकारी दिएका छन् । यसअघि गत जेठमा महाशाखाले काठमाडौँ उपत्यकामा पनि समुदायस्तरमा संक्रमण फैलिएको छ वा छैन भनेर अध्ययन गरेको थियो । सो अध्ययनले उपत्यकामा समुदायस्तरमा संक्रमण नफैलिएको बताएको थियो । त्यतिबेलाभन्दा अहिले काठमाडौँ उपत्यकामा सङ्क्रमण दर बढिरहेको छ । मंगलबार मात्र उपत्यकामा ४८१ जनामा संक्रमण पुष्टि भएको थियो ।

“संक्रमणको सूचक हेर्दा अहिले समुदायस्तरमा नै हो कि भन्ने देखाउँछ”, उनले भने, “अब अध्ययन गरेपछि मात्र समुदायमा सङ्क्रमण छ वा छैनन् भन्ने पुष्टि गर्दछ ।” महाशाखाले विश्व स्वास्थ्य सङ्गठनको प्राविधिक सहयोगमा अध्ययन गर्न थालेको हो । अध्ययनका लागि महाशाखाले शुक्रबारसम्म कर्मचारी छनोट गर्ने र ती कर्मचारीलाई तालिम दिएर सातवटै प्रदेशमा रगत सङ्कलनका लागि पठाउने महाशाखा निर्देशक डा.पाण्डेले बताए ।

एलाइजा विधिबाट एन्टिबडीको परीक्षण गरी नेपालमा समुदायस्तरमा फैलिएको छ वा छैन भन्ने पत्ता लाग्नेछ । सातवटै प्रदेशबाट सङ्कलन भएको रगतको नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गरिनेछ ।

करिब एक महिनाभित्र समुदायस्तरमा फैलिएको हो वा होइन भनेर अध्ययन पूरा गरिने महाशाखाका निर्देशक डा. पाण्डेले बताए । “पहिले ट्राभल हिस्ट्री भएका मानिसमा मात्र संक्रमण देखिएको थियो”, उनले भने, “तर अहिले ट्राभल हिस्ट्री नभएका र समुदायमा रहेका व्यक्तिमा पनि संक्रमण देखिएको छ । काठमाडौँमा नै ट्राभल हिस्ट्री नभएका मानिसमा संक्रमण देखिएको छ ।”

विदेशबाट आएका १५ वर्षदेखि ४५ वर्ष उमेर समूहका व्यक्तिमा संक्रमण देखिए पनि अहिले नेपालभित्रकै जो कोहीलाई पनि संक्रमण देखिन थालेको डा. पाण्डेको भनाइ रहेको छ । गत माघ ९ गते नेपालमा पहिलोपटक संक्रमण देखिएको थियो । अहिलेसम्म ४६ वटा प्रयोगशालामा सात लाख पाँच हजार ५६० जनामा गरिएको पिसिआर परीक्षणमा ४० हजार ५२९ जना कोभिड– १९ को संक्रमण देखिएको छ ।

पिसिआर परीक्षण गरिएकामध्ये संक्रमण पुष्टि भएको दर ५.७ प्रतिशत रहेको छ । तीमध्ये सक्रिय संक्रमित १८ हजार ११२ जनामा रहेको छ । यस्तै २३९ जनामा संक्रमणका कारणले निधन भइसकेको छ । नेपालमा प्रति १० लाख ७.८ प्रतिशत मृत्युदर, संक्रमितमध्ये मृत्युदर ०.६ प्रतिशत रहेको छ । मोरङ, सुनसरी, बारा, महोत्तरी, धनुषा, रौतहट, सर्लाही, पर्सा, चितवन, काठमाडौँ, ललितपुर र रुपन्देहीलगायतका १२ जिल्लामा ५०० भन्दा बढी संक्रमित भेटिएका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म २२ हजार १७८ जना संक्रमणबाट निको भएर घर फर्किसकेका छन् । अहिलेसम्म ५५ प्रतिशत डिस्चार्ज भइसकेका छन् भने संस्थागत आइसोलेशनमा १० हजार ८३२ जना, होम आइसोलेशनमा सात हजार २८० जना र क्वारेन्टिनमा सात हजार ३९० जना रहेका छन् ।