काठमाण्डाैं उपत्यका प्रवेश गर्न अनिवार्य काेराेना नेगेटिभ हुनुपर्ने

१७ भाद्र २०७७, बुधबार
प्रतीनिधिमुलक तस्विर

काठमाडौं उपत्यका प्रवेश गर्न कोरोना संक्रमण परीक्षण गरेर रिपोर्ट अनिवार्य नेगेटिभ हुनुपर्नेछ ।

काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले बुधबार एकै व्यहोराको निषेधाज्ञाको आदेश जारी गर्दै अत्यावश्यक कामका लागि काठमाडौं उपत्यका प्रवेश गर्दा पीसीआर रिपोर्ट अनिवार्य नेगेटिभ भएको हुनुपर्ने निर्णय गरेका छन् ।

‘अत्यावश्यक कार्यको लागि उपत्यका भित्रिने व्यक्तिहरुको पीसीआर रिपोर्ट अनिवार्य नेगेटिभ भएको हुनुपर्नेछ’ वक्तव्यमा भनिएको छ ।

औषधि, खाद्यवस्तु, पेट्रोलियम पदार्थ, तरकारी, फलफूल, दूध, विद्युत, दूरसञ्चार, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टिन, आइसोलेसन, फोहोरमैला व्यवस्थापन, अस्पताल आउने जाने बिरामी, दाहसंस्कारका लागि अनिवार्य सहभागी हुनुपर्नेजस्ता कामलाई सरकारले अति आवश्यक सेवामा राखेको छ । प्रशासनको निर्णयअनुसार यी कामका लागि काठमाडौं आउनेले पनि अनिवार्य पीसीआर नेगेटिभ भएको हुनुपर्नेछ ।

अत्यावश्यक सामग्री ढुवानीमा प्रयोग भएका सवारी साधन, निर्माण सामग्री बोकेका सवारी साधन, भन्सार जाँचपास गरी आएका मालबाहक सवारी साधन, स्वास्थ्यकर्मी र सुरक्षा निकायले प्रयोग गर्ने सवारी काठमाडौंलाई उपत्यका प्रवेश गर्न पाउने तर ती सवारी साधनका ड्राइभर र सहयोगी अनिवार्य क्वारेन्टिनमा बस्नुपर्नेछ ।

निषेधाज्ञाको आदेशअनुसार हवाई उडानबाट विदेश जानेहरुले पासपोर्ट, भिसा, स्वीकृत हवाई टिकट देखाएमा र पीसीआर परीक्षण सुविधा नभएको स्थानबाट काठमाडौं आउनुपरेमा काठमाडौंमा सुरक्षित रुपमा बस्ने स्थानको सुनिश्चितता गर्नुपर्नेछ । साथमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयको सिफारिस अनिवार्य देखाउनुपर्नेछ ।

कोरोना संक्रमण समुदाय स्तरमा फैलिएको भन्दै तिन वटै जिल्लाका प्रजिअहरूको भर्चुअल बैठकबाट यस्तो निर्णय भएको हो ।