निषेधाज्ञा तोडेर अगाडी बढ्दै सेयर कारोबार

१८ भाद्र २०७७, बिहीबार

लकडाउनका बावजुद सेयर कारोबारमा सुधार आएको छ । यसअघि चार अर्ब ४६ करोडसम्म पुगेको कारोबार रकम हिजो बुधबार मात्र चार अर्ब १८ करोड पुगेको छ । निषेधाज्ञाको दुई सातामा सेयर बजारमा ९० अङ्कको वृद्धि भएको छ । भदौ तीन गते १३ सय ९३ अङ्कका साथ रहेको सेयर बजार परिसूचक बुधबार बढेर १४ सय ८३ अङ्कमा पुगेको छ ।

सेयर बजार विश्लेषक प्रकाश तिवारीका अनुसार अन्यत्र लगानी को वातावरण नरहेको र अर्थमन्त्री डा. युवराज खतिवडाको बहिर्गमनको चर्चाका कारण कारोबार बढेको हो । यसबारे नेपाल पूँजी बजार लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्यालको भने मिश्रित प्रतिक्रिया छ । उनी अन्यत्र लगानीको वातावरण नभएर सेयरको मूल्य वृद्धि भएको तर अर्थमन्त्री खतिवडाको बहिर्गमनको प्रभाव भने नपरेको बताउँछन् । उनका अनुसार सस्तो ब्याजदरमा ऋण पाएपछि व्यवसायीले लगानी बढाएका हुन् ।

हाल सेयर बजारमा देखिएको वृद्धि दीगो नहुने अर्काथरी व्यवसायीको जिकिर छ । ठूला पुँजीका बैंकहरु कारोबारमा संलग्न भए मात्र दीगो सुधार हुने उनीहरूको भनाइ छ ।