सेयरको मूल्य दुई सातामै दोब्बर, कम्पनी छानबिनको दायरामा

१८ भाद्र २०७७, बिहीबार

सेयरको मूल्यमा अस्वभाविक वृद्धि भएको भन्दै नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज लिमिटेडले नेपाल पूनर्बीमा कम्पनी (एनआरआईसी) माथि छानबिन सुरु गरेको छ ।

महङ्गो मूल्यमा सेयर बिक्री गर्ने गिरोह सक्रिय रहेको हुनसक्ने भन्दै छानबिन थालिएको हो । सेयर विज्ञहरुले समेत भ्रम फैलाएर सेयरको मूल्य अस्वभाविक रुपमा बढाइएको बताउँछन् ।

दुई महिनाअघि पाँच सयदेखि ६ सय रुपैयाँमा कारोबार भएको सेयरको मूल्य भदौ चार गते बिहीबार पाँच सय ८३ कायम रहेकोमा हाल सोही सेयरको मूल्य करिब नौ सय रुपैयाँ प्रतिकित्ता पुगेपछि अनियमितताको आशंका उब्जिएको हो । सेयरको मूल्य अस्वभाविक वृद्धि भए छानबिन गर्ने गरिएको छ ।