नेपालमा बिहीबार थप १२ सय २८ जनामा संक्रमण पुष्टि

१८ भाद्र २०७७, बिहीबार

विराटनगर । भदौ १८

नेपालभर कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या कूल ४२ हजार ८७७ पुगेको छ । बिहीबार मात्रै १२ सय २८ जनामा संक्रमण पुष्टि भएपछि संक्रमितको संख्या ४२ हजार ८७७ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार आज ३९४ महिला र ८३४ पुरुष गरी थप १ हजार २२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर विभिन्न ३९ प्रयोगशालामा गरिएको १३ हजार ४१३ जनाको परीक्षणमा थप १ हजार २२८ जनामा कोरोना संक्रमण पुष्टि भएको उनले जानकारी दिए ।

कुल संक्रमितमध्ये सक्रिय संक्रमितहरू कूल १८ हजार ४१३ रहेका छन् ।

नेपालमा कोरोनामुक्त हुनेको संख्या भने कूल २४ हजार २०७ पुगेको छ । जम्मा संक्रमितमध्ये ५६ प्रतिशतले काेराेना जितेका हुन् । बिहीबार ९१७ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा थप ६ जनाकाे ज्यान गएकाे छ । याेसँगै काेराेनाबाट मृत्यु हुनेकाे संख्या २५७ पुगेकाे हाे ।