सप्तरीमा १२ सयभन्दा बढीकाे स्वाब अलपत्र

मनाेज पाेख्रेल

१८ भाद्र २०७७, बिहीबार

विराटनगर । भदाै १८

सप्तरीमा पीसीआर परीक्षणको दायरा बढ्ने त हैन घट्दै गएको छ । सिराहा र सप्तरी दुबै जिल्लाको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको पीसीआर ल्याबमा रहेको एक मात्र मेसिन र सीमित जनशक्तिकै कारण परीक्षणको दायरा बढ्न नसकेको हो ।

स्वास्थ्य कार्यालय सप्तरीले अहिले दैनिक तीन सयदेखि चार सय स्वाब कन्ट्रयाक्ट ट्रेसिंगको आधारमा गरिरहेको छ । सोहीअनुसार संकलन ११ सय ९७ जनाको स्वाब अझै परिक्षण हुन नसकेको र संकलित स्वाब ल्याबमै थन्किएको स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारी दिएका छन् । उनका अनुसार दुबै जिल्लाको स्वाब एकै ठाउँ जाँच्ने भएकाले समयमा संकलित स्वाब परीक्षण हुन सकेको छैन ।

पीसीआर ल्याबमा जनशक्ति अभाव हुँदा पनि २–३ सिफ्टमा दैनिक २ सयदेखि ३ सय मात्र स्वाब परीक्षण भइरहेको गजेन्द्रनारायण सिंह अस्पतालका निमित्त मेसु डाक्टर रञ्जित झाले बताए ।

शंका लागेर वा कन्ट्रयाक्ट ट्रेसिंङमा परेर स्वाब दिएकाहरूको एक सातासम्म पनि नतिजा नआउँदा कतिपयले मानसिक तनाब हुने गरेको गुनासो गरेका छन् । यसबाहेक स्वाबको नतिजा पाउन एक साता पर्खिनुपर्ने भएकाले उक्त समयसम्म अनिवार्य होम क्वारेन्टाइन बस्नुपर्ने हुन्छ तर त्यसो नहुँदा झन् संकमण बढने चिन्ता थपेको स्वास्थ्य कार्यालय प्रमुख यादवको भनाइ रहेको छ ।