सुस्त मनस्थितिकी बालिका बलात्कारकाे आरोपमा एकजना पक्राउ

१८ भाद्र २०७७, बिहीबार
सांकेतिक तस्वीर

विराटनगर । भदाै १८

विराटनगरकी एक जना सुस्तमनस्थितिका बालिकालाई जबजस्ती करणी गरेको आरोपमा प्रहरीले विराटनगर महानगरपालिका-५ का ३५ वर्षीय संजय राजवंशीलाई पक्राउ गरेको छ ।

प्रहरीले राजवंशीलाई १४ वर्षीय सुस्तमनस्थितिकी बालिकालाई करणी गरेको आरोपमा पक्राउ गरेको हो । ती बालिकाको घरमा कोही नभएको मौका छोपी राजवंशीले भदौ ४ मा करणी गरेको प्रहरीले जनाएको छ ।

पीडितले मोरङ प्रहरीमा आएर जाहेरी दिएपछि राजवंशीलाई पक्राउ गरि अनुसन्धान सुरू गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिएका छन्।

आमा बजार गएको मौका छोपी टिभी हेर्दै गरेकी बालिकालाई राजवंशीले जबरजस्ती करणी गरेको पीडित परिवारले दिएको जाहेरीमा उल्लेख छ । ती बालिकाको विराटनगरस्थित कोशी अस्पतालमा स्वास्थ्य परीक्षण गर्दा पनि करणी भएको रिपोर्ट आएको प्रहरीले जनाएको छ ।