इटहरी रङ्गशालामा सात दिनभित्र आइसोलेसन बन्दै

१८ भाद्र २०७७, बिहीबार
फाइल तस्वीर

विराटनगर । भदाै १८

इटहरी रङ्गशालामा सात दिन भित्र सय बेडको बन्न लागेको आइसोलेसनको लागि प्रदेश सरकारले २० लाख सहयोग गरेको छ ।

बिहीबार इटहरीमा प्रदेश सांसद सर्वध्वज साँवाको प्रमुख आतिथ्यमा र इटहरी उपमहानगरका मेयर द्वारिकालाल चौधरीको अध्यक्षतामा बसेको कोभिड रोकथाम, तथा नियन्त्रण तथा व्यवस्थापन नगर स्तरीय समितिले एक हप्ता भित्र आइसोलेसन सञ्चालनमा ल्याउने निर्णय गरेको हो । बैठकले आवश्यक स्वास्थ्य जनशक्ति वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र वाइफाईका लागि नेपाल टेलिकम सँग माग गर्ने निर्णय गरेको छ ।

बैठकलाई सम्बोधन गर्दै प्रदेश सांसद सर्वध्वज साँवाले आइसोलेसन निर्माणको लागि आवश्यक पर्ने अन्य सहयोगका लागि प्रदेश र सङ्घीय सरकारसँग पहल गर्ने प्रतिबद्धता समेत जनाएका थिए ।

व्यवस्थापन उपसमिति संयोजक तथा वडाध्यक्ष भूपेन्द्र बरालका अनुसार आइसोलेसनको लागि आवश्यक पूर्वाधारको तयारी तीव्र रहेको तथा जमिन सम्याउने काम भइरहेको बताए । उनले सबैमा आइसोलेसन निर्माणमा सहयोगका लागि समेत अपिल गरेका छन् ।

आइसोलेसन परिसरमा वाइफाई र सिसी क्यामेरा जडानको साथै १२ वटा शौचालय र २ वटा वाथ रुम निर्माण गरिने भएको छ ।

https://youtu.be/exOyEG-NueE