६ दिनदेखि बेपत्ता ट्रक चालकको शव उद्योगको शौचालयभित्र भेटियो

१८ भाद्र २०७७, बिहीबार
प्रतिनिधिमूलक तस्वीर

विराटनगर । भदौ १८
मोरङको बूढीगङ्गा गाउँपालिका - ३ मा एउटा उद्योगको शौचालयभित्र हराएको छ दिनपछि ट्रक चालक भारतीय नागरिक बिहीबार दिउँसो मृत फेला परेका छन् ।

कुखुराको दाना उत्पादन गर्ने ओम चाबो बिरो प्लेट फिड इन्डष्ट्रिज प्रा.लि नामक उद्योगको शौचालयभित्र बिहीबार दिउँसो ४ बजे शव भेटिएको छ । ट्रक चालक भारत अररीया घर भएका ४० वर्षीय विनय यादवलाई शौचालयभित्र मृत फेला पारिएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताएका छन् ।

 

खड्काका अनुसार चालक भदौ १२ गते शुक्रबारबाट उद्योगको सम्पर्कमा थिएनन् । मृतक भारतबाट ट्रकमा कुखुराको दाना बनाउन प्रयोग गरिने मकै ढुवानी गर्ने चालक हुन् । मकै ‘लोड’ गरिएको डब्लुबी ७३ बी ६७६६ नम्बरको ट्रक लिएर उनी भारतबाट भदौ ११ गते बिहीबार उद्योगमा आइपुगेका हुन् ।

उद्योगदेखि दुई सय मिटर पर कामदारका लागि बनाइएको तीनवटा शौचालयमध्ये बीचको शौचलयभित्र चालकको शव भेटिएको प्रहरीले जनाएको छ ।

भित्रबाट चुक्कुल लगाएर ढोका बन्द गरिएको शौचालयमा शव लडिरहेको थियो । घटनाको प्रकृति हेर्दा सौच गर्दागर्दै ढलेको र त्यसपछि उठ्न नसकेको हुनसक्ने प्रहरीको भनाइ छ । चालकको मृत्युको कारण भने खुलेको छैन । शव पोस्टमार्टमका लागि कोशी अस्पताल लगिएको छ।

चारो उद्योगका मेनेजर सञ्जय अग्रवालका अनुसार भारतबाट मकै लिएर आएको भोलिपल्टदेखि सम्पर्कविहीन बनेका चालकको मृतक भेटिएपछि प्रहरीलाई जानकारी दिइएको बताए । शव सडेर गन्हाएर यत्रतत्र दुर्गन्ध फैलिएपछि खोजी गर्दा मृत फेला पारिएको उनको अग्रवाको भनाइ छ।

https://youtu.be/exOyEG-NueE