आपराधिक समूहलाई पेस्तोल उपलब्ध गराउने एक जना पक्राउ

१८ भाद्र २०७७, बिहीबार
तस्विर : हाम्रोमत

विराटनगर । भदौ १८

संगठित रूपमा विराटनगरमा अपराधको सञ्जाल विस्तार गरेर व्यापारीलाई ज्यान मार्ने धम्की दिँदै लाखौं रूपैयाँ असुली गर्ने आपराधिक समूहलाई पेस्तोल र गोली उपलब्ध गराएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले पेस्तोल बिक्री गर्ने विराटनगर– १२ का २६ वर्षीय विकास महतोलाई बिहीबार पक्राउ गरेको जनाएको हो ।

प्रहरीले पक्राउ गरी बुधबार सार्वजनिक गरेको अपराधिक गिरोहलाई महतोले १ लाख रूपैयाँमा अटोमेटिकल पेस्तोल  उपलब्ध गराएका थिए । साथै त्यसमा लाग्ने ६ थान गोली पनि उपलब्ध गराएका थिए । संगठित रूपमा आपराधिक समूह स्थापना गरी विराटनगरलाई आपराधिक कार्यको स्थल बनाई व्यापारीसित रकम असुल्ने गिरोहका मुख्य नाइके मोरङ कटहरी २ आदर्शनगरका २७ वर्षीय अभिषेक रायलाई पेस्तोल र गोली बेचेको स्वीकार गरेका छन् ।

महतोलाई म्याद थप गरी अनुसन्धान सुरु गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए । गुट्खा, चालम तथा तेलको डिलर संचालन गर्ने विराटनगरका व्यापारीलाई २५ असारमा ज्यान मार्ने धम्की दिएर १० लाख रुपैयाँ सो समूहले चन्दा मागेको थियो भने ती व्यापारीले पनि दुई पटक गरी ५ लाख रुपैयाँ आपराधिक समूहलाई दिएका थिए ।

ती व्यापारीबाट रकम लिइसकेपछि गिरोहका मुख्य नाइके अभिषेकले पेस्तोल उपलब्ध गराउने मेहतालाई पेस्तोल बापतको १ लाख रुपैयाँ दिएको अनुसन्धानबाट खुलेको छ । पेस्तोल र गोली विराटनगरको कोशी प्रोजेक्टबाट उनले लिएको बताएका छन् ।

जम्मा ६ राउण्ड गोली खरीद गरेकोमा तीन राउण्ड गोली व्यापारीले सुरुमा रकम नदिएपछि तर्साउनका लागि पड्काएका थिए । अनुसन्धानका क्रममा संलग्न प्रहरी अधिकृतका अनुसार व्यापारीको घरको पर्खालमा गोली लागेको दाग देखिएको छ।

प्रहरीले  बरामद भएको पेस्तोल र गोली तथा यसअघि फेला परेको खोका परीक्षणका लागि विधि विज्ञान प्रयोगशाला पठाउने भएको छ । विराटनगरका दुई जना व्यापारीलाई ज्यान मार्ने धम्की दिँदै रकम असुल्ने आपराधिक समूहमा आबद्ध कटहरी गाउँपालिका–२ आर्दशनगरका २६ वर्षीय किसन साह, सोही ठाउँका २८ वर्षीय एलेक्स भन्ने रविन शर्मा, २७ वर्षीय अभिषेक राय तथा सप्तरी बोदेबसाईन नगरपालिका ८ बस्ने २७ वर्षीय नन्दु भन्ने नन्दकिशोर साह र भारतको बिहार राज्य सितामणी जिल्लाका विराटनगरकै जलजला मोडस्थित चाइना बजारमा कपडा पसलमा काम गर्ने २७ वर्षीय राजुकुमार शाहलाई प्रहरीले पक्राउ गरेको छ। घटनाबारे विविध तथ्यहरू खुल्दै गएको छ।