कविता आफ्नै लागि !

१९ भाद्र २०७७, शुक्रबार

वि.संं २०१६ मा जन्मस्थान ओखलढुंगा जिल्ला माम्खा गाउँमा जन्मिनुभएका कवि बद्री भिखारी नेपाली कविता यात्राका कुशल साधक हुनुहुन्छ । एकचालीस बर्षे जागिरे जीवन बिताएर हाल अवकाशप्राप्त जीवन बिताउँदै गर्नुभएका कवि भिखारीसँग हाम्राे विराटनगर समाचार पाेर्टलका सम्पादक अभिमन्यु अभिजितले गर्नुभएकाे स्रस्टा र साहित्य साप्तहिक अङ्ककाे पहिलाे शृङ्खला 

कवि भिखारीका हत्केला भरिका रेखाहरू ( मुक्तकसङ्ग्रह ) २०४३, माड्साबको झोला (२०५६) र समुद्र-साउती ( कवितासङ्ग्रह) २०७५ प्रकाशित छन् । नियात्रा र प्रिय अखडा ( निबन्धात्मक संस्मरण ) आमाको लय (अल्जाइमर रोगका लक्षण, बिरामीका दैनिक गतिविधि समेटिएको) आमाको दैनिकी प्रकाशाेन्मुख कृतिहरू हुन् ।

 

कविता विधामा परिचित हुनुहुन्छ। सबैले कवि भनेर चिन्छन्। कविता लेखनको पृष्ठभूमि कसरी सुरु भयो?

सुरुमा त कविता भनेर रामायण , महाभारत , देवीभागवतलाई बुझ्थेँ । पछि छ्त्तीस साल यता यसो लेख्दालेख्दै कविता भएछन्, जतिबेला छाप्न भनेर पत्रिकामा पठाउँथेँ । मैले कविताको सिद्धान्त पढेर, सूत्र पढेर कविता लेख्न थालेकै होइन । अरुले कविता भए भनेपछि मात्र कविता यसरी पनि लेखिदोरहेछ भन्ने लाग्यो ।

कविता कस्तो हुनुपर्ला? छत्तीस सालका कविता र अहिलेका कवितामा यहाँले अनुभव गर्नुभएको पृथकता के हो?

छत्तीस साल, नेपाली कवितामा एउटा आन्दोलन पनि हो । एक दलीय पन्चायतको बिरुद्ध कविहरू सडकमा आए, अठार बर्षको उत्पीडन, शोषण र दमित आवाजका विरुद्ध उकुसमुकुस भएको स्वर कवितामार्फत् मुखरित भएको हो । शासन शैलीका विरुद्ध सडकमा सुनिएका कविता छ्त्तीस उताका भन्दा पृथक् थिए । त्यो समय विज्ञान प्रविधिको पहुँच नभएको, विश्व परिवेशका बारेमा पत्रिका अथवा किताब पढ्नुबाहेक अन्यत्रबाट कमै थाहा पाएको समय, कविता पनि बिरोध, कुन्ठा, व्यङ्ग्य यही सेरोफेरोमा केन्द्रित थिए । अहिले विज्ञान प्रविधिले धेरै बिषयमा जानकारी दिएको छ, हेर्ने दृष्टिकोण पनि फरक छ । उतिबेला व्याख्या र वर्णन बढी भएजस्तो पनि लाग्छ । आजका कविता चित्रात्मक पनि लाग्छन् ! कविता पढ्दै जाँदा चित्र पनि आउनु आजका कविताको विशेषता हो कि ? जे होस् अहिले कविताले पनि सङ्घीयता, जातीय छुवाछुत, छाउपडी र बेरोजगारी, महिलामाथि हुने यौनशोषण जस्ता बिषयको उठान गर्दैछ, जुन कुरा त्यतिबेला दबाइएका थिए ।

तस्वीर- कविकाे फेसबुक खाताबाट

 

तपाईँ जागिरे जीवन पनि बिताइसक्नु भएका कवि हुनुहुन्छ। पहिले र अहिलेका कविहरूको जीवनशैलीमा के फरक पाउनुहुन्छ? कविता लेखेर बाँच्न सकिन्छ?

  • पहिले अधिकांश कविलाई काँधमा झोला भिर्ने, फितावाल चप्पल लाउने, ल्याङ्गफ्याङ्गे शैलीमा हिँड्ने, दाह्री झ्याप्प पाल्ने, हेर्दै वैराग लाग्ने मानिस कवि हो जस्तो लाग्थ्यो । अहिले कवि पनि सफासुघ्घर भएको, चिटिक्क परेका लुगा लाउने, टिकटमा कविता कार्यक्रम हुने भएका कारण कविको पनि भाउ बढ्दै गएको हो कि जस्तो लाग्छ । अहिले त कविता वाचन गरेरै आम्दानी गर्ने कविहरू पनि छन । हामी बसेको समाज, समाजको चेतना, फेसबुकमा लाइक कमेन्ट आएकै भरमा किताब छाप्न हतारिने कवि जमातलाई हेर्दा तपाईंले भन्नुभएको कविता लेखेर बाँच्न सकिने अवस्था अहिले देखिदैन । त्यसै पनि कविताका किताब दुई तीन हजार प्रति छापिन्छन्, त्यति किताब बिक्री हुन बर्ष दिन पनि लाग्छ । प्रकाशक र बिक्रेता त्यसै पनि बाठा छन, कति बिक्री भयो थाहै हुँदैन । कविता लेखेर बाँच्न त सकिन्छ, आम्दानीको बाटो अरु पनि हुनुपर्यो !

त्यसै पनि कविताका किताब दुई तीन हजार प्रति छापिन्छन्, त्यति किताब बिक्री हुन बर्ष दिन पनि लाग्छ । प्रकाशक र बिक्रेता त्यसै पनि बाठा छन्, कति बिक्री भयो थाहै हुँदैन ।

पहिलेको तुलनामा अहिले कविता लेख्नेको संख्या धेरै बढेपनि कविताको स्तर घट्दो छ भनिन्छ। तपाईंलाई के लाग्छ?

  • पहिले कविता कम लेखिन्थे, छाप्नका लागि हतारिँदैनथे, ऐलेजस्तो सन्चारको ब्यापकता पनि थिएन । लेख्नेबित्तिकै फेसबुकमा हाल्ने, तुरुन्त प्रतिक्रिया आइहाल्ने अवस्था थिएन । मलाई लाग्दैन, अहिलेको दाँजोमा कवि कम थिए र ती गुणस्तरीय लेख्थे । अहिले पनि गुणस्तरीय कविता लेख्ने कवि नभएका होइनन्, तर नयाँ सिकारु कविहरू रातारात चर्चित हुने आकांक्षाले फेसबुकमा कविता हाल्ने क्रम बढ्दो छ । पहिले कविताले छापिने माध्यम र पढ्ने पाठक खोज्थ्यो, अहिले विभिन्न अनलाइनले पत्रिकाले कविता खोज्छन् । अझ नयाँ प्रयोगका कारण पनि त्यस्तो लाग्न सक्छ तपाईंलाई । स्तरको कुरा फेसबुकलाई आधार मान्नु न्यायोचित होइन । फेसबुकमा देख्नुभएका कविता हेरेर स्तर घटेको भन्नुहुन्छ भने मान्न तयार छु । कविको सङख्या भन्नुहुन्छ, जनसङ्ख्या पनि त बढेको छ नि ! नयाँमा स्तर घटेको मात्र नभएर सोच, शैली, शिल्प , बिम्ब, प्रतीकका नवीन प्रयोग पनि भैरहेका छन् ।

भर्खरै राष्ट्रकवि माधवप्रसाद घिमिरेको इहलिला समापन भयो। जातीय व्यवस्थाका पक्षधरहरू कवि घिमिरे कुलीन राजपरिवारका मात्र कवि थिए भन्ने खालको आरोप पनि लगाए। वास्तवमा कविले कविता कस्का लागि लेख्ने हो?

  • माधव घिमिरेलाई मैले वा तपाईंले जे भने पनि उनी कविवर हुन् । उनी नेपाली साहित्यका (गीत,कविता, निबन्धमा ) एक उचाइ हुन् । त्यो उचाइ उनले लेखेर प्राप्त गरेका हुन् । जसरी भानुभक्त आचार्यले ब्राह्मणले बोल्ने र लेख्ने गरेको संस्कृत भाषालाई छोडेर नेपाली भाषामा रामायण भावानुवाद गरेर एउटा अभियान चलाए ठिक त्यसै गरी घिमिरेले पनि छन्दकवितामा लोकभाषाको प्रयोग गरेर नेपाली कावितासाहित्यको एक चुली बनाए । हो, कुनै आन्दोलनमा उनी तटस्थ बसे, कतै कसैको स्तुति लेखे तर समग्रमा उनले लेखेका कृति र गुणलाई हेर्दा उनी यो समयका हाम्रा निधि हुन् । हामीले जसरी गोपालप्रसाद रिमाल, भुपी शेरचन र बैरागी काइँला जस्ता गद्यकविताका कविहररू पायौँ त्यसैगरी नेपाली छन्दकवितामा एक्लो माधव घिमिरे पायौँ । कविले पहिले आफ्नालागि कविता लेख्ने हो । आफुलाई चित्त बुझेपछि मात्र अरुलाई ग्राह्य होला । कतिपय कविहरू भन्छन् – जनताका लागि, सर्वहारा वर्गका लागि वा भुइँमान्छेका लागि कविता लेख्छु, अरुकालागि लेखिएका त कवितै नहुन पनि सक्छन् । मेरो हकमा चाहिँ सोध्नुभएको हो भने, पहिले आफ्नैलागि लेख्नेगर्छु ।

तपाईंका बारेमा ‘छन्द बिरोधी’ वा परम्परा नमान्ने भनेर आलोचना गर्नेहरू पनि छन्। उनीहरूलाई के भन्नुहुन्छ?

  • गद्य कवितामा पनि छन्द हुन्छ नि ! मात्रा र गण मिल्नु मात्रै छन्द होइन । छन्द भएन भने गद्य कविता बन्दैन ! यद्यपि गद्य कवितामा देखिने छन्द शास्त्रीय छन्दजस्तो चाहिँ हुँदैन । जो सङ्गीत हुन्छ कवितामा, त्यो छन्द हो । मजस्तो न कसैको समर्थन, न कसैको बिरोध गर्ने मानिसलाई बिरोधी देख्नु नै दृष्टिदोष हो भन्छु म त ! अब परम्परा भन्नुभो नि! राम्रा परम्परा त कसले छोडेको छ र ? किन छोड्नु ? अब यति भनिसकेपछि भनिरहनु नपर्ला- म छन्द बिरोधी होइन ।

अन्तिममा, कविताकै परिवर्तित रूप पिरामिड/क्रिमुक/हाइकू जस्ता विधा भित्रिइसक्यो। यिनीहरूले कविताको सनातन स्वरूपलाई असर गर्ला कि नगर्ला?

  • कविताकै परिवर्तित रूपमा माथि भनिएका जे जे नाम लिएर आउँछन् ती कविता हुन्, तिनलाई ग्रहण नगरी सुखै छैन । महाकाव्यबाट हाइकूसम्म कविताकै स्वरूप हुन् । कविताको सनातन स्वरूप भनेको के हो ? समाज सतीप्रथा मुक्त भयो, दासप्रथा मुक्त भयो अनि कविताले चाहिँ सनातनी परम्परा धान्नुपर्ने ? महाकाव्यका पात्र धनवान्, बलवान्, सामन्त वा राजकुमार नै हुनुपर्ने ? सनातन स्वरूपलाई त भानुभक्तले नै खारेज सकेकाछन् ! तपाईंले उल्लेख गर्नुभएकाे सनातन स्वरुपलाई परिमार्जन गरेर आधुनिक स्वरूपमा पो लैजानुपर्छ त !