भक्तपुरमा कोरोना संक्रमितको घरमा लगाइयो ताल्चा !!

१९ भाद्र २०७७, शुक्रबार
Old Wooden door locked with rusty padlock. lock on the door of an old farmhouse . True village style, close-up, focus on lock

भक्तपुर नगरपालिका–१० कमलविनायकका ४९ वर्षीय पुरुषमा बुधबार कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएपछि चाॅगुनारायण नगरपालिका–७ खरिपाटीस्थित विद्युत प्राधिकरण तालिम केन्द्र आइसोलेसनमा राखिएको छ ।

सुख्खा खोकी लाग्ने, शरीरका जोर्नीहरु दुख्ने समस्या भएपछि उनलाई खरिपाटीबाट पाटन अस्पताल पुर्‍याइएको अहिले उनको अवस्था सामान्य भएको संक्रमितकी श्रीमतीले बताएकि छिन् ।

ती पुरुषमा कोरोना संक्रमण पुष्टि भएपछि वडाध्यक्षको नेतृत्वमा संक्रमितको घरमा ताल्चा लगाइएको छ । संक्रमित पुरुषकी आमासहित परिवारका ४ जना र घरमा डेरागरी बस्ने ५ जना गरी ९ जना घरभित्र नै थुनिएका छन् ।

‘घरको मूल ढोकामा लगाइएको ताल्चाको साँचो छिमेकीसँग छ,’ उनले भनिन्, ‘केही आवश्यक पर्‍यो भने छिमेकीलाई भन्नु भनेर वडाध्यक्षसहितको टोलीले ताला लगाइदिए ।’ गत शनिबार कोरोना संक्रमण पुष्टि भएको छिमेकीको घरमा डोरी मात्र टाँगेर छोडेको भएपनि आफ्नो घरमा ताल्चा नै लगाइ दिएकोमा दु:ख लागेको उनले बताइन् ।

घरमा ताला लगाइदिएपछि वृद्धवृद्धा र साना बालबालिका थप त्रसित भएको संक्रमितको परिवार बताउँछन् । ‘संक्रमितमध्ये पनि हामी थप पीडित भयौं, हामीले नै रोग सारेको जस्तो व्यवहार गर्छन्,’ ती महिलाले भनिन्, ‘कोरोना संक्रमण भएपछि हेराइ र बोलाइमा फरक पर्ने रैछ ।’

‘टोलका छिमेकीहरुले संक्रमितको घरबाट मानिसहरु घर बाहिर आवतजावत गरेको गुनासो आएपछि संक्रमण समुदायमा फैलिने डरले घरमा ताल्चा लगाइएको हो,’ भक्तपुर नगरपालिका–१० का वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौमिखाले भने, ‘संक्रमितको घरमा बस्ने मानिसहरुलाई केही समस्या भए छिमेकीले ताला खोलिदिन्छन् ।’

‘संक्रमितको प्रत्यक्ष सम्पर्कमा आएका व्यक्तिहरुलाई संक्रमण हुने सम्भावना उच्च छ, त्यसैको सावधानीका लागि संक्रमित क्षेत्रमा सिल गर्ने प्रक्रिया नै छ,’ स्वास्थ्य कार्यालय भक्तपुर प्रमुख कृष्णबहादुर मिजारले भने, ‘समाजमा संक्रमण नफैलियोस् भनेर नै सिल गर्ने हो । संक्रमितको परिवारलाई आवश्यक परेको सामग्री छिमेकी र जनप्रतिनिधिले जुटाइदिन्छन् ।’

संक्रमितको प्रत्यक्ष सम्पर्कमा आएका व्यक्तिहरु दुई साता आइसोलेसन बस्नुपर्ने र संक्रमितको कन्ट्याक ट्रेसिङमा परेकाको सात दिनमा पीसीआर परीक्षण गरिने मिजारले बताएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने संक्रमितको पहिचान खुल्ने गरी कुनै पनि गतिविधि नगर्न आग्रह गर्दै आएको छ ।