अपाङ्ग किशोरी छिमेकीबाट बलात्कृत, मुद्दा मिलाउन आर्थिक प्रलोभन

१९ भाद्र २०७७, शुक्रबार
सांकेतिक तस्वीर

विराटनगर । भदाै १९

अपाङ्ग किशाेरीलाई छिमेकीले नै बलात्कार गरेको प्रकरणमा पीडित परिवारलाई आर्थिक प्रलोभनमा पार्न खोजेको आरोपमा आरोपीका आफन्तलाई प्रहरीले नियन्त्रणमा लिइ सचेत गराइ छाडेको छ ।

इटहरी १६ पकलीकी १७ वर्षीया किशाेरीलाई छिमेकी ४५ वर्षीय कृष्ण ढकालले आफ्नै घरमा बोलाएर बलात्कार गरेको भन्दै साउन १० गते इलाका प्रहरी कार्यालय पकलीमा किटानी जाहेरी परेको थियो । जाहेरी दर्ता भएपछि फरार ढकालका साला पर्ने भुवन कार्की उनका छोरा र श्रीमतीले बालिकाको आमालाई पैसामा मिल्न दबाब दिएका थिए ।

किशाेरीको परिवारलाई घटना समाजमै मिलाउन स्थानीय छरछिमेकी तथा आफन्त दिनहुँ जसो घरमा आई विभिन्न आरोप लगाउने साथै पैसामा मिल्न दबाब दिने गरेको पीडितकी आमाले प्रहरी समक्ष गुनासो गरेकी थिइन् ।

दबाब दिने तीन जनालाई इलाका प्रहरी कार्यालय पकलीका प्रहरी निरीक्षक कैलाश अधिकारीले जवरजस्ती करणीको मुद्दा दर्ता भएको केशमा फेरी पनि पीडित परिवारलाई दबाब दिए कानून अनुसार मुद्दा चलाउने चेतावनी दिए ।

किशाेरीकी आमाका अनुसार पीडकको आफन्त तथा छिमेकीहरूले ३ लाखमा मुद्दा मिलाउन दबाब दिएको बताइन् ।

‘कहिले ३ लाख दिन्छु मिल् भन्छन्, कहिले ६ लाख दिन्छु भन्छन् ।’ ‘मैले मेरी छोरीको शरीर बेच्नु ?’ उनले गुनासो पोखिन् ।

समाजले बारम्बार टर्चर दिने गर्दा पीडित छोरी कहिले हाँसेको हासै गर्ने, कहिले रुने गरेको उनले बताइन् ।

‘समाजमा भएको घटना समाजमै मिलाउनु पर्छ, तिमिहरू एक घरे भइसक्यौँ तुरुन्त प्रहरीमा दिएको जाहेरी झिक’ समेत स्थानीयले भन्ने गरेको पीडितकी आमाले गुनासो पोखिन् । आर्थिक अवस्था कमजोर रहेको उक्त परिवारमा पीडित किशाेरीकी आमा समेत लामो समयदेखि कम्बरको समस्याले लट्ठीको सहाराले हिँड्ने गरेकी छिन् ।

एक महिना बितिसक्दा पनि आरोपी पक्राउ पर्न नसकेकोमा बालिकाको आमाले दुःख व्यक्त गरिन् । यता पकलीका प्रहरी निरीक्षक कैलाश अधिकारीले फरार ढकालको खोजी भइरहेको जानकारी दिए ।

– अपराधन्यूजबाट साभार