जहाँ जमघट,त्यहीँ ठूलो संकट

२० भाद्र २०७७, शनिबार
प्रतीनिधीमुल्क तस्विर

प्रदेश १ का जनघनत्व बढी भएका तीन शहरहरु विराटनगर, इटहरी र धरानमा कोरोना संक्रमण तिव्र गतिमा फैलिरहेको छ।

विराटनगरमा एक हजार एक सय १०, इटहरीमा दुई सय ३१ र धरानमा एक सय ९७ जनामा संक्रमण पुष्टि भएको छ ।

संक्रमितमध्ये विराटनगरमा ११ जना र धरानमा ६ जनाकोमृत्यु भएको छ । बुधबारसम्म मोरङमा एक हजार सात सय ४६ जना र सुनसरीमा आठ सय ६७ जनामा संक्रमण पुष्टि भएकोमा सोमध्ये मोरङका सात सय १८ जना र सुनसरीका दुई सय ८१ जना निको भएका छन् ।

सुनसरीमा समुदायमा संक्रमण फैलिएकाले इटहरी, दुहबी र इनरुवामा संक्रमितको संख्या बढेको जिल्ला जनस्वास्थ्य कार्यालय सुनसरीकी कोरोना फोकल पर्सन सृजना लिङथेपले बताइन् । उनका अनुसार दुहबीमा हाल संक्रमितको संख्या एक सय ३४ जना रहेका छन् । धरानमा हाल ३० जना संक्रमित आइसोलेसनमा रहेको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले जानकारी दिए । उनका अनुसार धरानमा पनि संक्रमण समुदायमा फैलिरहेको छ ।