बुटवलका संक्रमितहरूकाे पिसिआर रिपोर्ट नै अन्यौलमा

२० भाद्र २०७७, शनिबार

विराटनगर । भदाै १८

कोरोना परीक्षणको रिपोर्टले रुपन्देहीको बुटवलका बासिन्दा हिजोआज अन्यौलमा परेका छन्। बुटवलका दुइटा प्रयोगशालाले एकै व्यक्तिको फरक/फरक रिपोर्ट दिएपछि प्रयोगशालाप्रति मानिसको विश्वास घटेको त छ नै साथै तनाव पनि बढाइदिएको छ।

बुटबलमा प्रादेशिक प्रयोगशाला भैरहवा, लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र नेशनल प्याथल्याब बुटवललाई पिसिआर परीक्षणको अनुमति छ। तर बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल र नेशनल प्याथ ल्याबमा एउटै व्यक्तिको स्वाब परीक्षण गरिएकोमा रिपोर्ट एउटामा पोजिटिभ र अर्कोमा नेगेटिभ आएपछि बुटबलबासी तनावमा परेका छन्।

भाद्र ७ गते लुम्बिनी प्रादेशिक अस्पतालमा स्वाब संकलन गरी परीक्षण गरेका बुटवलका २० वर्षीय पुरूषको पिसिआर गर्दा कोरोना पोजेटिभ देखायो। उनले भोलिपल्ट नेसनल प्याथ ल्याबमा फेरि स्वाब परीक्षण गराएका थिए। तर त्यहाँ उनको रिपोर्ट नेगेटिभ आयो। उनले अर्को दिन भाद्र ९ गते नेशनल प्याथ ल्याबमा फेरि परीक्षण गरेका उनको त्यहाँ रिपोर्ट नेगेटिभ नै आयो। अन्यौलमा परेर फेरी भाद्र १० गते लुम्बिनी प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा भने उनको रिपोर्ट पुनः पोजिटिभ नै आएपछि उनी अहिले आइसोलेमा छन् । एउटा प्रयोगशालामा नेगेटिभ र अर्कोमा पोजेटिभ आएको कारण आफू संक्रमित हो कि होइन भन्ने नै पहिल्याउन नसकेको उनले बताएका छन् ।

यस्तै रुपन्देहीकै रोहिणी गाउँपालिकाकी १३ वर्षीया बालिकाको पनि दुइ वटा ल्याबमा परीक्षण गर्दा एउटामा पोजेटिभ अर्कोमा नेगेटिभ आएको छ। उनको भाद्र १३ गते लुम्बिनी प्रादेशिक अस्पतालबाट गरिएको पिसिआर परीक्षणको रिपोर्टमा पोजिटिभ छ। भाद्र १५ मा नेसनल प्याथ ल्याबमा परीक्षण गर्दा उनको रिपोर्ट नेगेटिभ आयो।

रुपन्देहीकै तिलोत्तमा नगरपालिका वडा नम्बर १२ मा बस्ने महोत्तरी पिपरा गाउँपालिकाका ३७ वर्षीय पुरूषको पनि फरकफरक ल्याबमा गराएको परीक्षणको नतिजा पनि फरक नै आएको छ । रुपन्देहीको एप्पल इन्टरनेशनल फर्मास्युटिकलमा काम गर्ने उनले गत आइतबार लुम्बिनी प्रादेशिक अस्पतालको प्रयोगशालामा स्वाब संकलन गराएकोमा पिसिआर रिपोर्ट पोजिटिभ आएको छ।
रिपोर्ट चित्त नबुझेर अर्को दिन नेशनल प्याथ ल्याबमा परीक्षण गर्न पुगेका उनमा त्यहाँ कोरोना नेगेटिभ देखियो। ‘एउटामा पोजेटिभ आएपछि क्रसचेकका लागि अर्कोमा गएको त्यहाँ नेगेटिभ पो देखायो,’ उनले भने, ‘म अन्यौलमा छु। बस्न त आइसोलेसनमै बसेको छु।’ उनी अहिले बनबाटिका स्वास्थ्य चौकीमा स्थापना गरेको आइसोलेसनमा छन्।

पिसिआर परीक्षणको लागि सरकारले अनुमति दिएका दुइटा प्रयोगशालाको रिपोर्ट फरकफरक आएपछि झन् जोखिम बढेको छ । मानिसहरू कुनलाई सत्य मानेर आइसोलेसनमा बस्ने कि नबस्ने भन्ने द्विविधामा छन् ।

भैरहवास्थित प्रादेशिक प्रयोगशालाका प्रमुख डा. राजेन्द्र गिरीले स्वाब संकलन गरेको समय, प्रकृया र परीक्षण गर्ने किटको आधारमा पनि कहिलेकाहीँ प्रयोगशालाहरूमा फरक रिपोर्ट आउन सक्ने बताएका छन् । उनले बुटवलका प्रयोगशालाहरूमा यस्तो समस्या आएको आफूले पनि जानकारी पाएको बताए। एउटै मानिसको आज र भोलि स्वाब परीक्षण गर्दा भाइरसहरूको संख्या थपघट हुने र प्रयोगशालाहरूले त्यसैको आधारमा रिपोर्ट दिने हुँदा फरक रिपोर्ट आउने उनको भनाई छ। ‘एउटा प्रयोगशालामा पोजेटिभ रिपोर्ट आएपछि आइसोलेसनमा बस्नुको सट्टा नेगेटिभ रिपोर्टको खोजीमा हिँड्नु गलत ने गलत हो’ उनले भने।

नेपाल स्वास्थ्य व्यवसायी परिषद्का रजिष्ट्रार पुष्प खनाल पनि प्रयोगशालामा स्वाब संकलन महत्वपूर्ण हुने र त्यसैको आधारमा नतिजा आउने बताउँछन्। उनले कुन परिस्थितिमा कसरी स्वाब संकलन गरिएको छ त्यसको आधारमा नै रिपोर्ट आउने भएकाले पिसिआर पनि ६० प्रतिशत मात्रै भरपर्दो रहेको जानकारी दिए ।