चिकित्सक नै लागूऔषध ओसारपसारमा संलग्न विराटनगरबाट पक्राउ

२० भाद्र २०७७, शनिबार
सांकेतिक तस्वीर
विराटनगर । भदाै २०
भारतबाट प्रतिबन्धित लागुऔषध लिएर आउने क्रममा सशस्त्र प्रहरीले एक जना चिकित्सकलाई पक्राउ गरेर मोरङ प्रहरीमा बुझाएको छ ।

धनुषाको जनकपुर उपमहानगरपालिका–११ घर भई सुनसरीको धरानमा डेरा बस्दै आएका ३३ वर्षीय दन्त रोग विशेषज्ञ डा.सन्दीपकुमार साह बुधबार साँझ भारतबाट को ९ प ८५३७ नम्बरको मोटरसाइकलमा आउँदै गरेको क्रममा विराटनगर महानगरपालिका–१७ स्थित एकीकृत भन्सार जाँच चौकीबाट भन्सारको सुरक्षाका लागि खटिएको सशस्त्र प्रहरीको टोलीले चेकजाँच गर्दा लागुऔषध फेला पारेपछि पक्राउ परेका हुन् ।

मोटरसाइकलको लेगार्डमा झुन्ड्याइएको प्लाष्टिकको झोलामा लागुऔषध स्पास्मोप्रोक्सिभन २० ट्याब्लेट, नाइट्राजेपाम २० ट्याब्लेट र डाइलेक्स डीसी नौ बोतल फेला परेको प्रहरीले जनाएको छ । लागुऔषधसहित विराटनगरबाट पक्राउ परेका साहसँग म्याद सकिएको भारतीय दुतावासको परिचयपत्र पनि भेटिएको छ । उनी धरानस्थित भारतीय राजदूतावासको ‘पेन्सन पेइङ अफिस’को कर्मचारीसमेत भएको खुलेको हो ।

म्याद सकिएको परिचयपत्र देखाउँदै उनले लागुऔषध बोकेर सहज रुपमा नेपाल–भारत ओहोरदोहोर गर्ने गरेको खुलेको छ । कोरोना संक्रमणका कारण सीमा नाका बन्द गर्दै नेपाल–भारत आउजाउमा रोक लगाइएको भएपनि उनी सोही परिचयपत्रको आधारमा आउजाउ गरिरहेको बुझिएको छ । नेपाल आउन प्रतिबन्ध लगाइएको आईसीपीको बाटो हुँदै जबरजस्ती छिर्ने प्रयास गरेपछि उनलाई सशस्त्रले चेकजाँच गर्दा लागुऔषध फेला परेपछि पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ ।

उनलाई लागुऔषध ऐन अन्तर्गतको मुद्दा चलाउन अदालतबाट म्याद थप गरेर अनुसन्धान अघि बढाइएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिनुभयो । साहले भने बिरामी रहेका परिवारका सदस्यका लागि औषधिका रुपमा प्रयोग गराउन भारतबाट लागुऔषध लिएर आएको प्रहरीलाई बताएका छन् ।

त्यस्तै झापाको केर्खामा पनि कमल गाउँपालिका ७ का दुई जना बुधबार राति लागुऔषधसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा ४० बर्षीय रोशन साह र १८ बर्षीय दिपक गुरुङ रहेका छन् ।

बुधबार राति केर्खा चौकमा मे १ ह ६३७६ नम्बरको अटोमा आएका दुबै जनालाइ नियन्त्रणमा लिई चेकजाँज गर्दा लागुऔषध फेला पारिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनीहरुले बोकेको झोला खोलेर हेर्दा लुकाईछिपाई राखिएको १२० ऐम्पुल डायजोपाम, १२० ऐम्पुल लुपिजेसिक र १२० ऐम्पुल फेनारगन फेला परेको छ ।
उनीहरूलाई ईलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।