दाहसंस्कार गरेपछि मृतकमा काेराेना पुष्टि

२० भाद्र २०७७, शनिबार

विराटनगर । भदाै २०

बुढीगंगा गाउँपालिका–५ माेरङका एक पुरुषको परिवारले अन्तिम संस्कार गरिसकेपछि उनमा कोरोना कोरोना पोजेटिभ रहेको पुष्टि भएको छ । विराट टिचिङ्ग हस्पिटलमा उपचारको क्रममा शुक्रबार राति मृत्यु भएका ४५ वर्षीय पुरुषमा कोरोना देखिएको हो ।

स्वासप्रश्वासमा सामान्य समस्या भएपछि शुक्रबार विहान ४ बजे विराट टिचिङ्ग हस्पिटलमा भर्ना गरिएपछि उनमा निमोनियासमेत देखिएको थियो । बिरामीको स्वास्थ्यावस्था गम्भीर बन्दै गएपछि अस्पतालको आइसीयूमा राखिएपनि उपचारको क्रममा मृत्यु भएको विराट टिचिङ्ग हस्पिटल, कोभिडका फोकल पर्सन डा. पुरु कोइरालाले जानकारी दिए ।

उपचारको क्रममा स्वाब संकलन गरेर परीक्षणको लागि प्रदेश प्रयोगशालामा पठाइएको थियो । परीक्षणको रिपोर्ट नआउँदै शनिबार विहान १० बजे अस्पतालले आफन्तलाई शव जिम्मा लगाएपछि उनीहरुले बुढीखोलामा लगेर अन्तिम संस्कार गरेका थिए । अन्तिम संस्कार गरेको केही घण्टापछि शनिबार दिउँसो १ः४५ पुरूषको कोरोना पोजेटिभ रहेको रिपोर्ट प्रदेश प्रयोगशालाले दिएको डा. कोइरालाले बताएका छन् ।

संक्रमण पुष्टि भएका मृतकका दाहसंस्कारमा करीब ३ दर्जन बढि मलामी गएको स्थानीयले जानकारी दिएका छन् ।  स्वाब दिएको अवस्थामा कसैको मृत्यु भएमा रिपोर्ट नआएसम्म शव आफन्तलाई दिन नपाइने प्रावधान रहेपनि उक्त मृतककाे दाहसंस्कार नै गरिइसकेकाे छ । कोरोना पोजेटिभ भएकाहरुको शव सुरक्षित रुपमा नेपाली सेनाको टोलीले व्यवस्थापन गर्ने नियम छ ।

अस्पतालको हेलचेक्राइँले मृतकको परीक्षणको रिपोर्ट नआउँदै परिवारले शव लिएर आफैं अन्तिम संस्कार गरेका हुन् । ती पुरुषमा कोरोना पोजेटिभ रहेको पुष्टि भएसँगै बुढीगंगा गाउँपालिकाले मलामी गएकाहरूको कन्ट्याक ट्रेसिङ गरी सबैको पिसिआर परीक्षण गर्ने तयारी गरेको प्रहरीकाे भनाइ छ ।