कोरोना विरुद्धको खोप प्रयोगमा ल्याउन हतारिँदै रूस

२१ भाद्र २०७७, आईतवार

रुसले विकास गरेको कोरोना भाइरस विरुद्धको खोप स्पुतनिक -५ प्रभावकारी रहेको रुसी वैज्ञानिकहरुले बताएका छन् ।
मेडिकल जर्नल “द लान्सेट” मा खोपको परीक्षण प्रतिवेदन सार्वजनिक गर्दै उनीहरुले गम्भीर साइड इफेक्टरहित खोपले प्रतिरक्षा प्रणाली मजबुत बनाएको जिकिर गरेका छन् । गत अगस्टदेखि मानिसमा प्रयोग हुन थालेको खोपको परीक्षण पर्याप्त नभएको र यसले जोखिम निम्तने विज्ञको सुझावका बावजुद रुसले आफ्नो उत्पादन प्रभावकारी रहेको बताएको छ ।
सबै प्रक्रिया पूरा गरी खोप प्रयोगमा ल्याएको दाबी गर्दै रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नी छोरीमा समेत सोही खोप प्रयोग गरेका थिए । प्रत्येक पटक ३८ जनामा गरी दुई चरणमा खोपको परीक्षण गरिएको र तीन सातापछि बुस्टर डोज दिइएको जर्नलमा प्रकाशित प्रतिवेदनमा उल्लेख छ । ६ सातासम्म निगरानीमा रहेका १८ देखि ६० वर्षका प्रयोगकर्तामा तीन सातामै एन्टिबडी विकास भएको प्रतिवेदनमा भनिएको छ ।
खोपको प्रभावकारिता पुष्टि गर्न थप परीक्षण गर्नुपर्ने आवश्यकता प्रतिवेदनमा औंल्याइएको छ । तेस्रो चरणमा ४० हजार जनामा खोप परीक्षण गर्ने रुसको तयारी छ।
डिसेम्बरदेखि खोप सर्वसाधारणमा प्रयोग गर्ने रुसी स्वास्थ्य मन्त्री मिखाइल मुरास्कोले बताइरहँदा विज्ञहरुले भने थप परीक्षणमा जोड दिएका छन् ।।।