मुलुकभर हाेटेल व्यवसाय दिनानुदिन धराशायी बन्दै

२१ भाद्र २०७७, आईतवार

विराटनगर ।भदौ २०

कोरोनामहामारी नियन्त्रणका लागि संसारभर जारी गरिएको लकडाउन खुकुलो हुँदै गए पनि नेपालमा भने छ महिनासम्म जारी छ। यसबाट पूरा अर्थतन्त्र धरासायी हुने अवस्थामा पुगेको व्यवसायीले चिन्ता गरेका छन्।

निरन्तरको लकडाउनका कारण पुगेको क्षतिलाई न्यूनीकरण गर्न कुनै पनि राहत दिइएको छैन भने बन्दमात्र गर्दै जाँदा व्यवसाय र व्यवसायीमात्र नभएर लाखौं नेपाली बेरोजगार बन्ने जोखिम बढेको उनीहरूको भनाइ छ।

महामारीका कारण सबैभन्दा धेरै प्रभावित भएको पर्यटन हो भने त्यसमा पनि होटल व्यवसायीले सरकारले घोषणा गरेको राहत अहिलेसम्म कसैले पनि नपाएको गुनासो गरेका छना। कतिपयले पाए पनि त्यसबाट उद्धार सम्भव नहुने मेयरियट होटलका सञ्चालक शशिकान्त अग्रवालले दुखेसो गरे ।

राष्ट्र बैंकले होटल तथा पर्यटनसँगसम्बन्धी अन्य उद्योगलाई एक वर्षसम्म ब्याज तिर्न नपर्ने व्यवस्था गरिदिएको छ । त्यस्तै पाँच प्रतिशत ब्याजदरमा पुर्नकर्जा दिने पनि व्यवस्था गरेको छ तापनि यसबाट कसैलाई फाइदा नपुगाने अग्रवालले जिकिर गरे।

‘सरकारले हदै दिए हामीलाई पाँच प्रतिशत ब्याजदरमा दिने ऋण हो। मेरो होटलमा ४ सय करोडको ऋण छ। जम्मा मैले पाउने २० करोड हो तर यो कुल ऋणको ५ प्रतिशत पनि हुँदैन। यसबाट मैले के गर्ने? बरू यसलाई आधासम्म पुर्‍याइदिएको भए केही हुन्थ्यो। अरू त केही राहत पाइएको छैन।

त्यस्तै ब्याज तिर्ने व्यवस्थाले झनै घाटामा जाने उनको भनाइ छ। १ वर्षपछि ब्याज तिर्न पाउने सुविधा दिइएपनि यसबाट अहिलेको ब्याजलाई साँवामा रूपान्तरण गरिन्छ। यसले ब्याजमा पनि ब्याज लाग्ने हुन्छ। यस खालको व्यवस्थाले महामारीमा झनै समस्या थपिदिएको उनको बुझाइ छ।

कोरोनाबाट एकातिर व्यापार नहुने समस्या छ भने अर्कोतिर ब्याजमा ब्याज लागेर किस्ता झन् बढेर बोझ बढ्ने अवस्था आउन सक्छ। २ वर्षसम्म ब्याज तिर्नु नपरे अहिलेको ब्याजलाई किस्तामा मिलाएर तिरौंला भनेको भए पो राहत हुन्थ्यो- उनले भने।

काठमाडौंमै म्यारियट, अकामा, अलफ्ट लगायत ठूला होटल सञ्चालनमा आएका छन्। लकडाउनकै बीचमा रमडा होटल तयार भएको हो । त्यस्तै काठमाडौंबाहिर भैरहवामा सिद्धार्थको पाँचतारे होटल तयार भएको छ भने पवल प्यालेस पनि गएको वर्षमात्र सञ्चालनमा आएको छ । नेपालगञ्जमा सेन्ट्रल प्लाजा होटल पनि नयाँ व्यवसायीले किनेका थिए । इटहरीमा गरिमा होटल पनि निर्माण सम्पन्न गरी सञ्चालनको तयारी गर्दैछ।

सबै खालका साना ठूला गरेर नेपालमा करीब २ लाख होटलहरू छन् तापनि यिनीहरूको बारे सरकारले खासै सोचेको पाइन्न। देशको प्रमुख अर्थतन्त्रसित जोडिएको पर्यटन र आन्तरिक तथा बाह्य पर्यटकको भरमा चल्ने होटल व्यवसाय अहिले ठप्प हुँदा अर्थतन्त्रको आगामी दुर्भाग्यबारे आँकलन गर्न सकिन्छ । तथापि लकडाउन बाहेक अरू नसोच्ने सरकारका कारण व्यवसायीहरू चिन्तामा छन्।
यसबारे सेतोपाटीमा समाचार छ।