रातो मत्स्येन्द्रनाथको रथ तान्ने कार्यक्रम आइतबार, ललितपुर प्रायः सिल

२१ भाद्र २०७७, आईतवार
रातो मत्स्येन्द्रनाथकाे रथ

विराटनगर । भदाै २१

गत बिहीबार विवाद भएपछि रोकिएको रातो मत्स्येन्द्रनाथको रथ तान्ने कार्यक्रम पुनः आइतबार हुँदैछ । ललितपुरको पुल्चोकमा हुने कार्यक्रमका लागि महानगरीय प्रहरी परिसर, ललितपुरले कडा सुरक्षा व्यवस्था लागू गर्न सुरु गरेकाे छ ।

ललितपुरतिर प्रवेश गर्ने बालकुमारीदेखि बल्खुसम्मको सबै क्षेत्रलाइ सिल गरिएको छ । जिल्ला प्रशासन कार्यालय, प्रहरी र ज्यापु समाजका पदाधिकाहरूबीच् भएको छलफलमा सीमित व्यक्ति भेला भएर रथ तान्नका लागि जिल्ला प्रवेश गर्ने क्षेत्र सिल गरिएको बताइएकाे छ ।

प्रशासन स्रोतबाट प्राप्त विवरण अनुसार सीमित भनेर तयार गरिएको सूचिमा पनि ४ सय ३४ जना छन् । अनुसार १६० जना रथ तान्ने, १२४ जना स्वयंसेव तथा २८ जना बाजागाजा बजाउने समूह र ज्यापु समाजका विभिन्न पदाधिकारी १२२ जना गरी ४ सय ३४ जना भेला भएर रथ तानिँदैछ ।

कार्यक्रम अवधिभर प्रहरीको घेरा हुने सुरक्षा तयारीको खाकामा उल्लेख छ । बिहीबार प्रशासनको अनुमित विना ठूलो संख्यामा मानिसको भिड जम्मा भएपछि विवाद भएको थियो । प्रशासनले कार्यक्रम बिथोलेको थियो । त्यसक्रममा  एकजना प्रहरी जवान पनि निर्घात कुटिएका थिए ।

प्रशासनले शुक्रबार मात्रै रथ निकालिएको क्षेत्र वरपर पाँच जनाभन्दा बढी भेला हुन नपाउने निर्णय गरेको थियो ।