निशुल्क अनलाइन कक्षा सञ्चालन गर्नु पर्ने भन्दै नेविसंघकाे तालाबन्दी

२१ भाद्र २०७७, आईतवार
तस्वीर- सुभेच्छु देवान
विराटनगर । भदाै २१
काेराेना भाइरसकाे महामारीले दैनिक जनजीवन कष्टकर बनाएकाे परिस्थितिमा निशुल्क अनलाइन कक्षा सञ्चालन गर्नु पर्ने भन्दै नेपाल विद्यार्थी संघ, महेन्द्र बहुमुखी क्याम्पस इकाइले क्याम्पस प्रमुख दामाेदर भणडारीकाे कार्यकक्षमा तालाबन्दी गरेकाे छ।
आइतबार एकाइका सभापति विवेक लिम्बुद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा बन्दाबन्दीले गर्दा हातमुख जाेर्न समेत कठीनाइ भएकाे परिस्थितिमा क्याम्पसले सेमेष्टर प्रणाली अन्तर्गतका कक्षाहरूमा ५० प्रतिशत शुल्क लिनु न्यायाेचित नभएकाे भन्दै तालाबन्दी गरिएकाे वताएका छन्।
काेराेना कहरकाे यस्ताे परिस्थितिमा अनलाइन कक्षा उचित र महत्वपूर्ण रहेकाे तर शुल्क लिने कुरामा आफुहरू असहमति भएकाे भन्दै ध्यानाकर्षण गरेका छन्।
विषम परिस्थितिमा शुल्क तिर्न लगाउने निर्णय तत्काल सच्याइ अनलाइन कक्षा सुचारु गरिनु पर्नेमा सभापति लिम्बूकाे जाेड थियाे। साथै अनलाइन कक्षामा सहभागी हुने कुनै पनि विद्यार्थीलाइ शुल्क नतिर्न समेत नेविसंघले आह्वान गरेकाे छ।