विराटनगरमा २५ सहित प्रदेश १ मा १ सय ४३ संक्रमित

२१ भाद्र २०७७, आईतवार

विराटनगर । भदाै २१

गत २४ घण्टामा प्रदेश १ मा १४३ जना कोरोना संक्रमित थपिएका छन् । जसामध्ये सुनसरीमा ७८ जना छन् भने मोरङमा २९ र झापामा २८ थपिएका छन् । एवम् संखुवासभामा ६, उदयपुर र प्रदेश बाहिरका १–१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सुनसरीको धरानमा कूल ७१ जनामा संक्रमण देखिएको छ । १ महिला र ७० पुरुषको रिपोर्ट पोजेटिभ आएको हाे ।

इटहरीका ५ महिला र २ पुरुष तथा मोरङको विराटनगरमा ९ महिला १६ पुरुष, सुनबर्षीमा २ पुरुष, जहदा र बुढीगंगामा १–१ महिला छन् ।

उता झापाको विर्तामोडमा ८ महिला २ पुरुष, कमल गाउँपालिकामा ३ महिला ७ पुरुष, मेचीनगरमा २ महिला ४ पुरुष, अर्जुनधारा र स्थानीय तह नखुलेका १–१ महिलामा कोरोना संक्रमण देखिएको पनि सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यसैगरी संखुवासभाको खाँदबारीमा ३ , चैनपुरमा २ र चिचिलामा १ पुरुष, उदयपुरको त्रियुगामा १ पुरुष र प्रदेश १ बाहिर एक महिलाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म प्रदेश १ मा कोरोना संक्रमितहरूको संख्या कूल ४ हजार २२ पुगेको छ ।

गत २४ घण्टामा प्रदेश १ मा थप २ जनाको मृत्यु भएको छ । झापाकी १ महिला र विराटनगरका १ पुरुषको मृत्यु भएको हाे । प्रदेश १ मा मृत्यु हुनेको संख्या ४१ पुगिसकेकाे छ ।

यस प्रदेशमा आज ७ जना डिस्चार्ज भएका छन् । सबै विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट डिस्चार्ज भएका हुन् भने प्रदेशमा डिस्चार्ज हुनेको संख्या पनि १ हजार ८४३ पुगेको छ ।

प्रदेश १ मा आइतबार १ हजार २६७ जनाको पीसीआर परीक्षण गरिएकोमा ३१ महिला र ११२ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार कूल ९८ हजार ४८८ जनाको पीसीआर परीक्षण भएकाे छ ।