१० लाख दाइजाे माग्दा नपाएपछि छाेरीकाे हत्या

२१ भाद्र २०७७, आईतवार
सांकेतिक तस्वीर

विराटनगर । भदाै २१

सुनसरीको देवानगञ्ज गाउँपालिका–३ की २२ वर्षीय रिंकीकुमारी मेहताको हत्या गरिएको आरोप माइती पक्षले लगाएका छन् । मागेजति दाइजो दिन नसक्दा भगाएर बिहे गरेको दुई दिनमै छोरीको हत्या गरिएको उनीहरुको आरोप छ । माइती पक्षले आफूहरुसँग १० लाख रुपैयाँ दाइजो स्वरुप मागेको पनि बताएका छन् । विराटनगरस्थित इडेनवर्ग कलेजमा बीबीएस दोस्रो वर्षमा अध्ययनरत रिंकी भदौ १ गते गढी गाउँपालिका–४ स्थित छिटाहामा रहेको दाजु जयप्रकाश मेहताको घर गएकी थिइन् ।

उनलाई अनुहारमा रहेको समस्याको उपचार गर्न त्यही दिन कोशी अस्पताल विराटनगर ल्याइएको थियो । भदौ ३ गते दाजुकोबाट घर आउँदै गरेकी छोरी रातिसम्म पनि आइनपुगेपछि परिवारले खोजी थालेका थिए । त्यही दिन देवानगञ्ज–४ का रमेशकुमार मेहताले रिंकीलाई अपहरण शैलीमा भगाएर लगेको बुवा जयकिशोर महतोको भनाइ छ । उनले भगाएर लगेको २४ घण्टा पनि वित्न नपाउँदै १० लाख रुपैयाँ मागेको र दिन नसक्दा हत्या गरेको आरोप लगाए । पूर्व सभासद् मुगालाल मेहताले राति फोन गरेर छोरी केटासँग भागेको सुनाएको जयकिशोरले बताए ।

त्यसपछि मुगालालको घर पुगेको र छोरीलाई भने आफूले भेट्न नपाएको उनको गुनासो छ । ‘छोरी केटासँग गएकी रहिछ । त्यहीँबाट बिहे गरिदिन सबैले दबाब दिए,’ उनले आइतबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गर्दै भने, ‘तर १० लाख रुपैयाँ दाइजो चाहिन्छ भने । तर मैले पैसा दिन पनि सकिन र छोरीलाई भेट्न पनि पाइँन ।’पूर्व सभासद्लेसमेतले भगाएर लगिएकी छोरीलाई १० लाख दाइजो दिएर बिहे गर्न दबाब दिएपछि नसक्ने भएकाले आफू फर्किएर घर आएको जयकिशोरको भनाइ छ । आफू घर फर्किएपछि छोरीलाई रमेशको जिम्मा लगाएर पठाएको र त्यसको दुई दिन पनि वित्न नपाउँदै हत्या गरिएको उनको आरोप छ ।

तस्वीर – पूर्वेली न्युज

उनका अनुसार भदौ ५ गते बिहान ३ बजेतिर मुगालाले नै फोन गरेर छोरीले पासो लगाई झुन्डिएर मरिन् भन्ने खवर दिएका थिए । आफूहरु पुग्दा घटना शंकास्पद लागेको जयकिशोरले सुनाए । उनले सुतेको कोठाको बरण्डामा झुन्डिएको शव हेर्दा आफै आत्महत्या गरेको नभइकन हत्या गरेर झुन्ड्याइएको जस्तो देखेको बताए । ‘शरीरमा लगाएका कुनै गहना थिएनन्,’ उनले भने, ‘स्थानीय र घटनास्थलमा रहेका प्रहरीलेसमेत हत्या गरेर झुन्ड्याइएको हुन सक्ने अड्कल काटे ।’ यस विषयमा बुझ्न खोज्दा पूर्व सभासद् मुगालालसँग भने सम्पर्क हुन सकेन ।

देवानगञ्ज–३ का वडा अध्यक्ष अनिल भगतले घटना सुनेर आफूहरु पनि हेर्न गएको बताए । हेर्दा मृत्यु शंकास्पदनै देखिने उनको भनाइ छ । छोरीको हत्या भएको भन्दै जयकिशोरले घटनामा संलग्नलाई कारबाहीको माग राखेर प्रहरीमा जाहेरी दिँदा पनि लिन नमानेपछि हुलकामार्फत जाहेरी पठाएको बताए ।
छोरी रिंकीलाई लैजाने रमेश र उनका दाजु उमेशलाई प्रहरीले दुई दिनसम्म हिरासतमा राखेर छोडेको छ ।

सुनसरी प्रहरी प्रमुख एसपी कमल थापाले घटनामा आत्महत्या दुरुत्साहन सम्बन्धी मुद्दा दर्ता गरेर थप अनुसन्धान भइरहेको जानकारी दिए । घटना अनुसन्धानकै क्रममा रहेकोभन्दै उनले शवको पोस्टमार्टम रिपोर्ट आएपछि धेरै कुरा प्रष्ट हुने जनाए ।

पूर्वेली न्यूजबाट साभार