प्रतिपक्षी दलभित्र उथलपुथल

२२ भाद्र २०७७, सोमबार

संघीय संसदमा प्रमुख प्रतिपक्षी दलका रुपमा रहेको नेपाली कांग्रेस आन्तरिक विवादमा परेको छ ।

आगामी फागुन ७ देखि १० गतेसम्म हुने भनिएको महाधिवेशनका बीच सभापति शेरबहादुर देउवाले पार्टीमा आफूखुसी नियुक्ति गरेको भन्दै संस्थापन इतर पक्ष असन्तुष्ट बनेको हो ।

देउवाले विधानविपरीत विभाग विस्तार र कृयाशील सदस्यता वितरण गरेको भन्दै इतर पक्षले विरोधका कार्यक्रम ल्याउने तयारी गरेको छ ।

उसले लिखित विरोधदेखि आमरण अनसनसम्म गर्ने भएको हो । इतर पक्षका केन्द्रीय सदस्य गुरुराज घिमिरेले देउवाले आफ्नो कदम सच्याउनुपर्ने बताए ।

संस्थापन पक्षले भने सहमति खोजेपनि सम्भव नभएपछि विधान अनुसार निर्णय गरिएको जिकिर गरेको छ ।

महाधिवेशनको परिणाम आफ्ना लागि प्रतिकूल हुन सक्ने अनुमान गर्दै इतर पक्ष आफैं महाधिवेशन हुन नदिने खेलमा लागेको संस्थापन पक्षको आरोप छ ।