मन्त्रिपरिषद् पुनर्गठनको तयारीमा प्रधानमन्त्री

२२ भाद्र २०७७, सोमबार

नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रिपरिषद् पुनर्गठनको तयारीमा लागेका छन् ।

यसै साता मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारीमा रहेका ओलीले पार्टीको सचिवालय बैठकपछि हाल खाली रहेका अर्थ,सञ्चार, शहरी विकास लगायतका मन्त्रालयमा मन्त्री नियुक्त गर्ने तयारी गरिरहेका छन् ।

हालको मन्त्रिमण्डलमा सहभागी केही मन्त्रीको गलत कार्यशैलीका कारण पार्टी बदनाम भएको र पार्टीको विवाद समाधान गर्न गठित ६ सदस्यीय कार्यदलको सुझाव अनुसार ओली मन्त्रिपरिषद् पुनर्गठनका लागि तयार भएका हुन् ।

प्रधानमन्त्रीले कैही दिनभित्रै नयाँ मन्त्रीको नाम टुङ्गो लगाउन लागेका बेला दुई कार्यकाल सांसद बनेर पनि कुनै अवसर नपाएकालाई मन्त्रिपरिषदमा सामेल गराउनुपर्ने आवाज उठ्न थालेको छ ।

भर्खरै राष्ट्रियसभामा प्रवेश गरेका वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठसमेत मन्त्री पदका आकांक्षी रहेकोमा उनीहरुलाई मन्त्रिमण्डलमा सहभागी गराउन संविधान बाधक हुने आँकलन गरिएको छ ।

यस्तै,मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता पास गराउन भीम रावलले अवरोध गरिरहेकाले उनलाई रिझाउन पनि सरकारमा सहभागी गराउनुपर्ने भएपछि ओली दबाबमा परेका छन् ।