विराटनगरमा आज थप एक संक्रमितको मृत्यु

२२ भाद्र २०७७, सोमबार
प्रतिनिधिमूलक तस्वीर

मोरङको विराटनगरस्थित कोसी अस्पतालमा सञ्चालनमा रहेको कोभिड अस्पतालमा उपचाररत एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा विराटनगर महानगरपालिका-१० बस्ने ७६ वर्षीय पुरुष रहेको कोसीअस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले बताए । उनका अनुसार भदौ ११ गते संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा रहेका ती पुरुष गत शनिबार अस्पताल भर्ना भएका थिए ।

लामो समयदेखि उच्च रक्तचापबाट पीडित उनको आज बिहान ३:१५ बजे ज्यान गएको हो ।यससँगै विराटनगरमा हालसम्म कोरोना संक्रमणका कारण १५ जनाको मृत्यु भइसकेको छ । प्रदेश १ भरिमा यो संख्या ४३ पुगेको छ ।