भारतीयको कुटाईबाट एकजनाकाे उपचारका क्रममा मृत्यु्

२२ भाद्र २०७७, सोमबार
प्रतिनिधिमूलक तस्वीर

विराटनगर । भदाै २२

नेपाल र भारतकाे सीमा क्षेत्र नजिकै भारतीय नागरिकहरूको समूहले कुटपिट गर्दा घाइते भएका सप्तरीका एक पुरुषकाे साेमबार मृत्यु भएको छ ।

भदौ ६ गते भारतीयको कुटपिटबाट घाइते भएका सप्तरी जिल्ला डाक्नेश्री नगरपालिका ६ औरहीका ६५ वर्षीय रामदेव यादवको उपचारको क्रममा आइतबार राति मृत्यु भएको प्रहरीले जनाएकाे छ ।

यादवकाे धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो । आफ्नै खेतमा भैंसी चराउन आएपछि भारतीयको समूहलाई गाली गर्दा उनीमाथि कुटपिट भएको बताइएकाे छ ।

गम्भीर घाइते भएका यादवलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल हुँदै विराटनगर ल्याइए पनि कुनैपनि अस्पतालले उपचार गर्न नमानेपछि धरान लगिएको यादवका छोरा ललनले बताउका छन् ।

धान लहराउँदै गरेकाे खेतमा भैंसी चराइरहेको देखेर यादव र उनका छोरा ललनले गाली गर्दा भारतीय समूहले लाठी तथा बाँसको भाटाले कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता तिलक भारतीले बताए ।

कुटपिटमा संलग्नमध्येका एक भारतीयलाई नेपालतर्फ भैंसी चराउन आएकै अवस्थामा स्थानीयले पक्राउ गरी प्रहरीको जिम्मा लगाएका छन् । पक्राउ परेकामा भारतको लौकहीका १९ वर्षीय प्रदीपकुमार यादव छन् । अभियुक्त्लाइ कानून बमाेजिम कारबाहीकाे प्रकृया थालेकाे प्रहरीकाे भनाइ छ ।