
सेयर कारोबार बढाउने उद्देश्यले नेपाल स्टक एक्सचेन्ज(नेप्से) ले सेयर बजारमा नेटिङ सुविधा उपलब्ध गराएको छ । नेटिङका माध्यमबाट एकै दिन सेयर किन्ने र बेच्ने दुवै काम गर्न सकिने छ ।
यसअघि सेयर बिक्री गरेको तेस्रो दिन मात्र सो रकमबाट अर्को सेय र किन्ने व्यवस्था रहेकोमा अब एउटा सेयर बेचेकै दिन अर्को सेयर किन्न लगानीकर्ताले पाउने भएको नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले बताए । उनका अनुसार यसअघि यो सुविधा ब्रोकरले मात्र पाउने गरेका थिए ।
यसअघि बिक्री गरेको सेयरको रकम चौथो दिन मात्र पाइने तर खरिद गरेको मूल्य भने दोस्रो दिन नै तिर्नुपर्ने बाध्यता रहेको थियो ।
नेप्सेका वरिष्ठ सूचना प्रविधि अधिकृत प्रभाकर घिमिरेका अनुसार लगानीकर्ताले टिएमएसबाट नेटिङ सुविधा पाउने भएका छन् । यसबाट सेयर खरिद बिक्रीको हिसाब-किताब स्वतः प्राप्त गर्न सकिने छ । आधुनिक प्रविधि भित्रिएपछि सेयर कारोबारमा वृद्धि हुने अनुमान गरिएको छ ।