
मोरङको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा मृत्यु भएका कोरोना सङ्क्रमितको शव अस्पतालले उठाउन नदिई रोकेको छ।
औषधि र उपचारको ११ लाख रुपैयाँ तिर्न बाँकी रहेको भन्दै अस्पतालले सप्तरीको महुली गाउँपालिका-६ घर भएका ६७ वर्षीय सनमन सार्कीको शव अस्पतालले रोकेको हो ।
गत शनिबा र मृत्यु भएका आफ्ना बाबुको शव लैजान नपाएपछि अन्तिम संस्कार गर्नबाट बञ्चित भएको छोरा नविन अछामीले बताएका छन् ।
उच्च रक्तचापबाट पीडित सनमनलाई चैत ५ गते अस्पताल भर्ना गरिएकोमा २५ दिन आईसीयू र चार दिन भेन्टिलेटरमा राखिएको थियो ।
उपचारबापत पाँच लाख र औषधिको ६ लाख गरी कुल ११ लाख रुपैयाँ बाँकी रहेकाले यति ठूलो रकमको निर्णय अस्पतालका अध्यक्ष डा. सुनिल शर्माले मात्र गर्न सक्ने अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले बताए ।
छोरा नविनका अनुसार अस्पतालले घरजग्गा धरौटी राखेर पैसाअसुल्न खोजेपनि सुकुम्बासी जग्गा भएकाले सो सम्भव नभएको हो ।
आफूहरु गरिब भएकाले बाफुको अन्तिम संस्कार गर्न नपाएको भन्दै उनले सहयोग गर्न सबैसँग आग्रह गरेका छन् ।