विवादित काकरभिट्टा-इनरुवा रेलमार्गको ठेक्का रद्द

२३ भाद्र २०७७, मंगलवार

रेलमार्गको ठेक्का प्रक्रियाबाट रेल विभाग अन्नतः पछि हटेको छ । विभागले असार १४ र १७ गते आह्वान गरेका ५४ वटा ठेक्का रद्द गरेको हो ।

प्रक्रिया पूरा नगरी सेटिङमा ठेक्का लगाइएको, जग्गाको मुआब्जा विवाद नसुल्झिएको लगायतका कारणले ठेक्का विवादित बनेपछि विभाग निर्णयबाट पछि हटेको हो ।

ट्रयाक बनाउने खण्डमा अधिग्रहण हुने घरजग्गा र अन्य सम्पत्तिको मूल्य तोक्ने काम समेत नभएको भन्दै विभागको चर्को आलोचना हुँदै आएको थियो ।

संसदको विकास तथा प्रविधि समितिले पनि विभागको प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै प्रक्रिया रोक्न निर्देशन दिंदै आएको थियो । विभागले आज एक सूचना जारी गर्दै गत असार १४ र १७ गते अह्वान गरिएका ठेक्का रद्द गरेको जनाएको हो ।

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको पूर्व–पश्चिम रेलमार्ग अन्तर्गत रेलका लागि लिक बिछ्याउने ट्रयाक बनाउन विभागले ३२ अर्बभन्दा बढी लागत अनुमान गरिएको ठेक्का आह्वान गरेको थियो ।

१०६ किलोमिटर खण्डमा रेल्वे ट्रयाक बनाउन ठेक्का आव्हान गरिएको थियो ।
१०६ किलोमिटर लामो रेलमार्गको ट्रयाक बेड निर्माणको ठेक्का रद्द गरेको रेल विभागले सूचना निकालेर जानकारी दिएको हो ।

यसअघि ३३ अर्ब ३४ करोड ८० लाख रुपैयाँको ठेक्कामा पूर्व तयारी नगरी ठेक्का प्रक्रिया थालिएको थियो । यो टेन्डर प्रक्रियामा भ्रष्टाचार भएको भन्दै उजुरी परेको थियो । तर विवादका बाबजुद पनि टेन्डर प्रक्रियालाई अगाडि बढाउने तयारी थियो ।