गलत औषधि बेच्ने फार्मेसीमा औषधि विभागले लगायो ताला

२४ भाद्र २०७७, बुधबार

विराटनगर । भदाै २४

बिरामीलाई  गलत  औषधि  बिक्री  गरेको  भेटिएपछि  औषधि व्यवस्था  विभागले  हिजो  मङ्गलबार  एउटा  फार्मेसी  सील गरेको  छ ।

विभागको  विराटनगरस्थित  कार्यालयले  अनुगमनका  क्रममा सिफारिसबिनाका  औषधि  बेचेको  भेटेपछि  विराट  नर्सिङ होम  अगाडि  रहेको  महेश  मेडिकल  हल  सील  गरेको कार्यालय  प्रमुख  सञ्जीव  कट्टेलले  जानकारी  दिए ।  मेडिकल  सञ्चालक  कृष्णकुमार  यादवले  कुटपिटबाट  घाइते भएकी  मोरङको  जहदा  गाउँपालिकाकी  ७०  वर्षीया  वृद्धा दुर्गादेवी  पासवानलाई  डाक्टरको  प्रेस्क्रिप्सनबिना  नै  दुई ओटा  औषधि  थपेर  बेचेको  कट्टेलको  भनाइ  छ ।

उनका  अनुसार  सञ्चालक  यादवले  कडा  प्रकृतिका औषधिहरु  ‘इन्जेक्सन मेनम’  र  ‘इन्जेक्सन पेन्टोसिड’  थप गरेका  थिए ।
यादवलाई  दुई  महिनाअघि  पनि  कार्यालयले  उपस्थित  हुन पत्राचार  गरेकोमा  अटेर  गरेको  बताउँदै  कट्टेलले  कागज अध्ययनपछि  फार्मेसी  निलम्बन  गरी  थप  कारबाही  गर्ने जानकारी  दिए ।