नेपाली काङ्ग्रेसले मनायाे विपी कोइरालाको १०७ औं जन्म-जयन्ती, वेभसाइट पनि सार्वजनिक

मनाेज पाेख्रेल

२४ भाद्र २०७७, बुधबार

नेपाली राजनीति र साहित्यमा अलग्गै अाफ्नो स्थान बनाउन सफल नाम हो विश्वेश्वरप्रसाद कोइराला यानिकि विपी कोइराला । तिनै महान् व्यक्तित्व, नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको अाज १०७ औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

नेपालमा प्रजातन्त्रको स्थापना एवं पुनर्स्थापनाका लागि कठोर सङ्घर्ष गरेका कोइरालाको जन्म वि. सं. १९७१ भदौ २४ गते भएको थियो ।तत्कालीन जहानीयाँ राणा शासनको विरोधमा उनका पिता कृष्णप्रसाद कोइरालाले गरिब किसानको कपडा राणा प्रधानमन्त्री चन्द्रशम्शेरलाई पठाएपछि भारत निर्वासनमा जानुपरेको थियो ।

निर्वासनकै क्रममा जहानियाँ राणा शासनको अन्त्य गर्न वि. सं. २००३ मा बिपीको नेतृत्वमा नेपाली राष्ट्रिय काँग्रेस स्थापना भएको थियो । सुवर्णशम्शेरको नेतृत्वमा २००६ सालमा स्थापना भएको नेपाल प्रजातन्त्र काँग्रेससँगको एकता पछि २००७ सालमा देशमा प्रजातन्त्र अाउन सफल भएको हो । यसरी दुइवटा दल मिलेर बनेको पार्टी अहिलेको नेपाली कांग्रेस हो ।

वि. सं. २०१५ को आमनिर्वाचनमा काँग्रेसले दुई तिहाइ बहुमत प्राप्त गरेपछि बीपी प्रथम जननिर्वाचित प्रधानमन्त्री बनेका थिए ।

वि. सं. २०१७ पुस १ गते जननिर्वाचित सरकार अपदस्थ गरिएपछि बन्दी बनाइएका कोइरालाले वि. सं. २०२५ मा स्वास्थ्य परीक्षणका लागि जेल मुक्त भएपछि आठ वर्षसम्म भारतमा निर्वासित जीवन बिताएका थिए ।

२०३३ साल पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केका बीपीको मेलमिलापको नीति आज पनि मुलुकको राजनीतिमा उत्तिकै सान्दर्भिक देखिन्छ ।

नेपाली साहित्यमा समेत महत्वपूर्ण योगदान पुर्याएका कोइरालाका डेढ दर्जन कृति प्रकाशित छन् ।

अाज बिपीको जन्मजयन्तीको अवसर पारेर नेपाली कांग्रेसले भर्चुअल माध्यमबाट शुभकामना अादानप्रदान कार्यक्रम गरेको छ । यसै क्रममा nepalicongress.org कांग्रेसको अाधिकारिक वेभसाइट समेत अाजबाट सार्वजनिक गर्दैछ ।

कार्यक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, प्रवक्ता विश्वप्रकाश शर्मा लगायतले शुभकामना वक्तव्य राखेका थिए ।

जुम एपबाट भएको कार्यक्रममा नेपाली कांग्रेस तथा भातृ संगठनका नेता तथा कार्यकर्ताहरूले सहभागिता जनाएका थिए ।
बिपीको क्यान्सर रोगबाट वि. सं. २०३९ साउन ६ गते निधन भएको थियो ।