सरकारद्वारा ६ सय ४९ वटा स्थानीय तहलाई तत्काल अस्पताल बनाउनका लागि निर्देशन

२४ भाद्र २०७७, बुधबार
प्रतिनिधिमूलक तस्वीर

विराटनगर । भदाै २४

कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि अस्पताल नहुँदा उत्पन्न समस्यालाई सहजीकरण गर्नका लागि सरकारले अस्पताल नभएका ६ सय ४९ वटा स्थानीय तहलाई तत्काल अस्पताल बनाउनका लागि निर्देशन दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै ६ सय ४९ वटै स्थानीय तहलाई पाँच शैय्याको अस्थायी अस्पताल बनाउन निर्देशन दिएको हो । कोरोना संक्रमित बिरामी राख्न अस्पतालमा बेड अभाव भएकाले तत्काल अस्थायी रूपमा अस्पताल बनाउन मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत ती स्थानीय तहलाई निर्देशन दिएको हो ।

निर्देशन अनुसार कार्यान्वयन भए देशभरमा गरेर थप तीन हजार २४५ शैय्याका अस्पताल निर्माण हुनेछन् ।प्रत्येक अस्पतालमा एक चिकित्सक, दुई नर्स र एक कार्यालय सहयोगी हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

विराटनगर । भदाै २४

अस्पतालका लागि व्यवस्थापन र सञ्चालन सम्बन्धि निर्णय स्थानीय तहले गर्ने मन्त्रालयले जनाएको छ । मन्त्रालयले हालका लागि प्रतिशैय्या २ लाखका दरले बजेटसमेत निकासा गरिसकेको जनाएको छ ।

यस्तै अस्पतालका लागि तीन महिनाको शैय्याका लागि पाँच लाख, औषधि ५० हजार र चिकित्सक, स्वास्थ्यकर्मीका लागि चार लाख ५० हजार बजेट विनियोजन गरी पठाइसकेको जनाएको छ ।

मन्त्रालयका अनुसार निर्माण हुने अस्पतालका लागि स्थानीय तहलाई आधारभूत स्वास्थ्य सेवा केन्द्र, स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्रका भवन, सामुदायिक भवन वा अस्थायी टहरामा तत्काल व्यवस्थापन गरेर कोभिड–१९ का बिरामीको उपचारको लागि प्रयोग गर्न भनिएको छ।