नेपालमा दैनिक १७ जनाले किन आत्महत्या गर्छन् ?

२५ भाद्र २०७७, बिहीबार
सांकेतिक तस्वीर

नेपालमा २०७६ असार मासान्तदेखि २०७७ असारसम्म कूल ६ हजार २४१ जनाले आत्महत्या गरेका छन् । नेपाल प्रहरीको यो तथ्यांकमा १७ जना भन्दा बढीले दैनिक आत्महत्या गरेको बुझिन्छ ।

२०७५ सम्म नेपालभर आर्थिक वर्षमा दैनिक १५ जना थिए । प्रहरीले बनाएकाे विवरणमा आर्थिक वर्ष २०७५/०७६ मा ५ हजार ७५४ जनाले आत्महत्या गरेका थिए ।

०७६ साउनकाे महिनामा कूल ७०९ जनाले आत्महत्या गरेको देखिएकाे छ । यस आर्थिक वर्षको पहिलो महिनाको तुलनामा दैनिक २२ जनाले आत्महत्या गरेका छन् ।

विश्व स्वास्थ्य संगठनका अनुसार नेपाल विश्वमा बढी आत्महत्या गर्ने देशहरूमध्ये सातौं स्थानमा पर्छ । विगतको तुलनामा यो वर्ष बढी आत्महत्या हुनुमा नोवेल कोरोना भाइरसका कारण दैनिकीमा अाएक्ा समस्या र कतिपय  निषेधाज्ञा नै प्रमुख कारण रहेको मनोचिकित्सकहरूले बताएका छन् ।

विश्वभर हुने अात्महत्यामध्ये १५ देखि २० प्रतिशत आत्महत्या निम्न तथा मध्यम आय भएका देशका नागरिकले गर्ने गरेकाे तथ्यांकले बताउँछ । लगातार भएकाे निषेधाज्ञाले गर्दा निम्तिएको बेरोजगारी, आर्थिक नोक्सानी, मन नपरेको मान्छेसँग लामो समय बिताउन बाध्य हुनु वा मनोरञ्जनस्थलमा जान नपाउनु पनि कारण भएकाे बताएका छन् ।  साथै जताततै कोरोनाकै मात्रै कुरा जस्ता कारणले विगतको तुलनामा यो दर बढेको मनोचिकित्सकहरूको भनाइ छ ।

प्रेम र परामर्शले राेक्न सक्छ आत्महत्या 

मर्ने कारण जेसुकै भए पनि आत्महत्या समस्याको समाधान भने किमार्थ होइन । पूर्वीय दर्शनले समेत अात्महत्यालाइ कायरता वा निकृष्टता भनाेकाे छ । यसकाे समयमै उपचार खोजे अनाहकमा ज्यान फाल्नबाट रोक्न सकिने जानकारहरूकाे विचार छ ।

मनोविश्लेषक बासु आचार्य आफूलाई अरुले अस्वीकारेको कुरा सहन नसक्दा आत्महत्या जस्तो गलत बाटो रोजेको पाइएको बताउँछन् । उनको सुझाव छ, ‘सबैभन्दा पहिला तपाईँलाई के कुराले गाह्रो भएको छ त्यो पहिचान गर्नुस्, समस्या समाधान गर्न सकिदैन जस्तो लाग्छ भने तुरुन्त विज्ञको परामर्श लिनुहोस् ।’

परिवारका सदस्य, आफन्त र साथहरुले पनि मानसिक समस्यामा भएका व्यक्तिलाई साथ दिनुपर्ने आचार्यको भनाइ छ । ‘मानसिक समस्या परेको व्यक्तिले अस्वाभाविक कुरा गरेको छ भने पनि यस्तो थाङ्ने कुरा नगर भन्नुहुँदैन ’, उनी भन्छन्, , ‘परिवारको प्रेम, औषधि र परामर्शबाट आत्महत्या रोक्न सकिन्छ ।’

आचार्य भन्छन्, ‘एउटा कुरा नबिर्सनुस्, कोरोना, लकडाउन, आर्थिक क्षति, नोकरीजस्ता समस्या तपाईँको जीवन भन्दा मूल्यवान हुँदै होइन ।’