प्रविधिको आडमा मौलाउँदै गाँजा तस्करी

२६ भाद्र २०७७, शुक्रबार

भारतको चेन्नईमा प्रहरीको निगरानीका बावजुद खाना डेलिभरी गर्ने केही एजेन्टहरु गाँजा तस्करीको माध्यम बनेका छन् ।

हाल प्रहरीले गोप्य वाट्स्एप ग्रुपबाट गाँजाको कारोबार हुने गरेको पत्ता लगाएको छ ।

खाना डेलिभरी गर्ने मानिसमाथि प्रहरीले शङ्का नगर्ने भएकाले तस्करहरूले उनीहरुलाई गाँजा ओसारपसारका लागि प्रयोग गर्ने गरेका छन् ।

तर, गत सोमबार प्रहरीको गस्ति टोलीले दुई जना युवाहरुलाई शङ्कास्पद तरिकाले सामान डेलिभरी गरेको देखेपछि सोधपुछ गर्दा विरोधाभासपूर्ण जवाफ दिएपछि दुई जना सूचना प्रविधि विज्ञका साथै एक खाना डेलिभरी एजेंटलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा २६ वर्षीय के. पुगाह जर्माइन र २५ वर्षीय भी. अर्जुन तथा डेलिभरी एजेंट लक्ष्मण रहेका छन् ।

पक्राउ परेका दुवै सूचना प्रविधि विज्ञहरू प्रतिष्ठित सूचना प्रविधि कम्पनी राजीव गान्धी सलाइका दक्ष कर्मचारी हुन् । उनीहरूका घरबाट प्रहरीले १० किलो ५०० ग्राम गाँजा बरामद गरेको छ ।

खाना प्याक गरिने अपारदर्शी प्याकेटमा लुकाएर गाँजा कारोबार हुने गरेकोमा एक प्रहरी अधिकृत आश्चर्य व्यक्त गर्छन् ।

उनका अनुसार एक महिनाको अवधिमा शहरमा फेला परेको यो तेस्रो घटना हो ।

अधिकारीहरुका अनुसार वाट्स्एप ग्रुपबाट गाँजाको कारोबार गर्नेले गोप्य रुपमा ग्रुपमा ग्राहक जम्मा गरी एक पटकका लागि केही गाँजा निशुल्क दिने गर्छन् । यस्तै, नयाँ ग्राहक बनाउनेले कारोबारको पाँचदेखि १० प्रतिशतसम्म कमिसनसमेत पाउँछन्, जुन बीस हजार रुपैयाँसम्म हुन आउँछ ।

इमेलमा कुरा मिलाइसकेपछि कुनै एक स्थानमा पुगेर गाँजा लेनदेन गर्ने गरिन्छ ।

गाँजा प्राप्त गर्न ‘पोट्लाम’,’धुम’ भन्ने गोप्य कोड शब्द प्रयोग गरिन्छ । एक ३० वर्षीय डिलर परिवर्तित नाम धनमालका अनुसार गाँजा दिन इच्छुक नभए ‘किसा’ भन्ने गोप्य कोड शब्द प्रयोग गरिन्छ । पहिले साइकलमा कारोबार गर्ने गरेको बताउने धनपालले अहिले ‘अमृतम’ भन्ने वाट्स्एप ग्रुपबाट कारोबार गर्ने गरेका छन् ।

प्रहरीका अनुसार नक्सल,आन्ध्र प्रदेश-ओडिसा सीमावर्ती क्षेत्र र सिलेरु नदी किनारमा बढी कारोबारीहरु फेला पर्ने गरेका छन् ।आन्ध्र प्रदेशको पूर्वी गोदावरी, ओडिसाको मल्कानगिरी र छत्तिसगढको सुक्मा जिल्लामा गाँजाको खेती ठूलो परिमाणमा हुने गरेको छ ।

गाँजाको हरीयो पातलाई सुकाएर विभिन्न यातायात साधन प्रयोग गरी ढुवानी गर्ने गरिन्छ ।।।