शिक्षा मन्त्रालयले नि: शुल्क इन्टरनेट उपलब्ध गराउने

२६ भाद्र २०७७, शुक्रबार

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यार्थीलाई निःशुल्क इन्टरनेट सुविधा उपलब्ध गराउन तयारी सुरु गरेको छ । कोरोना संक्रमणका कारण वैकल्पिक विधिबाट पठनपाठन सहजीकरणका लागि मन्त्रालयले नि:शुल्क इन्टरनेट सुविधा दिन लागेको हो ।

मन्त्रालयले हालै जारी गरेको ‘विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका’ अन्तर्गत इन्टरनेट सेवा प्रदायक संस्थाबाट शैक्षिक प्रयोजनका लागि मात्र हुने गरी नि:शुल्क वा सहुलियत शुल्कमा डाटा प्याकेज प्राप्त गरी विद्यालय र विद्यार्थीलाई नि:शुल्क इन्टरनेट सुविधा उपलब्ध गराउन लागेको हो ।

शिक्षा मन्त्रालयले इन्टरनेट सेवा प्रदायकसँग विद्यार्थी र विद्यालयलाई नि:शुल्क इन्टरनेट व्यवस्थापन लगायतका विषयमा छलफल सुरू गरेको र असोज पहिलो सातासम्म इन्टरनेटमा सहुलियत वा नि:शुल्क उपलब्ध गराउनेबारे निर्णयमा पुग्ने मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिएका छन् ।

मन्त्रालयले जारी गरेको निर्देशिकामा मन्त्रालयको भूमिका इन्टरनेट नि:शुल्क उपलब्ध गराउने, एकीकृत शिक्षा पोर्टल निर्माण गर्ने र शैक्षिक टेलिभिजन च्यानल स्थापना र सञ्चालन, विद्युतीय शिक्षण सामग्री विकास, अनलाइन प्रविधि तथा उपकरण, भर्चुअल ल्याब लगायतका लागि मन्त्रालयले आवश्यक बजेटसमेत व्यवस्थापन गर्ने निर्देशिकामा उल्लेख गरिएको छ ।