यातायात व्यवसायी र मजदुर संगठनको यातायात मन्त्री समक्ष मागपत्र

असोज १ देखि गाडी चलाउने चेतावनी

२६ भाद्र २०७७, शुक्रबार

यातायात व्यवसायी र मजदुर संगठनका नेताहरुले भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङलाई चारबुँदे माग राखेका छन् ।

यातायात व्यवसायी र मजदुर संगठनले अन्तर जिल्ला यातायात सञ्चालनमा भदौ ३२ गतेसम्म रोक लगाइएको तर कोरोना संक्रमण नियन्त्रणमा आइनसकेकाले यो थप लम्बिने सम्भावना भएकोले असोज १ गतेबाट यातायात चलाउने चेतावनी दिएका छन् ।

त्यसबारे निर्णय गर्नुपूर्व दबाब दिँदै आएका यातायात व्यवसायी र मजदुर संगठनले असोज १ गतेबाट अन्तर जिल्ला यातायात खुला गर्नुपर्ने, उपत्यकामा १६ सिटभन्दा कम क्षमताका सवारी पनि चलाउन पाउनुपर्ने, होल्डिङ सेन्टरमा भएको अनियमितताबारे छानविन गर्नुपर्ने र सवारीको आयु तोकेर दर्ता तथा नविकरण रोक्ने निर्णय खारेज गर्नुपर्ने सहितको मागपत्र उनीहरूले आज यातायात मन्त्री समक्ष बुझाएका छन् ।

सरकारको निर्णय मानेर ६ महिनादेखि गाडी थन्काएर बसेको, तर असोज १ बाट नमान्ने उनीहरुले बताएका छन् । काम गर्न देऊ कि माम देऊ भन्दै उनीहरूले मन्त्री नेम्बाङ समक्ष माग राखेको बताइएको छ । तर मन्त्रीले सरकार राहत दिनसक्ने अवस्थामा छैन भनेका छन् ।

मन्त्री नेम्वाङले पनि व्यवसायीहरुको माग जायज रहेकोले र उनीहरूको माग प्रति सकारात्मक देखिएका छन् । उनले भने ‘गाडी चलाउने नचलाउने मैले मात्र भनेर हुँदैन, स्वास्थ्य मन्त्रालय र अरु निकाय पनि छन् । तर म तपाईहरुको कुरा प्रधानमन्त्रीसम्म पुर्‍याउँछु ।’