इलामका कृषकलाई सरकारको ६ करोड ७२ लाखको अनुदान

मनाेज पाेख्रेल

२६ भाद्र २०७७, शुक्रबार
फाइल तस्वीर

विराटनगर । भदाै २६

कृषिको आधुनिकीकरण तथा कृषिलाई व्यवसायिक बनाउन सरकारले इलाम जिल्लाका किसानका लागि ६ करोड ७२ लाख अनुदान दिएको छ ।

चालु आर्थिक वर्षका लागि इलामका १० स्थानिय तहका कृषिबाली र किसानलाई व्यवसायी बनाउनको लागि छुट्टयाइएको अनुदानमा ब्लक, पकेट र नियमित कार्यक्रम सञ्चालन हुनेछन् ।

अनुदानमा प्रदेशको तीन करोड ४६ लाख र संघको तीन करोड २६ लाख गरी कुल ६ करोड ७२ लाख रुपैँया बराबरको अनुदान दिएको कृषि ज्ञान केन्द्र इलामका बाली संरक्षण अधिकृत हेमराज पन्तले जानकारी दिएका छन् । जिल्लाका प्रत्येक स्थानिय तहमा विभिन्न नगदेबालीका लागि अनुदान उपलब्ध गराइने पन्तको भनाई छ ।

प्रदेशका तर्फबाट कुल तीन लाख ४६ लाख रुपैँया रकम अनुदानका लागि नेपाल सरकारले स्थानिय तहलाई उपलब्ध गराएको छ । अनुदानमा पर्ने कार्यक्रम र रकमहरू निम्न छन् :

-मागमा आधारित कृषि व्यवसाय प्रवर्धन कार्यक्रम (कृषि विकास कार्यक्रम) मा –  ५ लाख

-कागती खेती मिसन कार्यक्रममा – १२ लाख

-किबी खेती प्रवर्धन कार्यक्रममा – २५ लाख

-व्यवसायिक फलफूल बगैँचा स्थापना सहयोगमा – ३० लाख

-मुख्य राजमार्ग लक्षित तरकारी उत्पादन कार्यक्रममा – १५ लाख

-कफी खेती विस्तार कार्यक्रममा – २५ लाख

-बीउबीजन आत्मनिर्भरका कार्यक्रममा पहिलो वर्ष – २ लाख

-बीउ विजन आत्मनिर्भरका कार्यक्रममा दोस्रो वर्ष – १८ लाख

-सघन बाली विकास आयोजनामा (धान, मकै, गहुँ) दोस्रो वर्ष – २० लाख

-महिला दलित विपन्न तथा पिछडिएको समुदाय लक्षित कार्यक्रममा – १० लाख

-युवा लक्षित च्याउ मह तरकारी उत्पादन कार्यक्रममा – ३० लाख

-सघन बाली विकास आयोजनामा (धान, मकै, गहुँ) तेस्रो वर्ष – ५ लाख

-नमुना कृषि फार्म स्थापना सहयोग (बागमानी विकास खर्च)मा ४९ लाख

-आलु भण्डारणको लागि रष्टिक स्टोर भण्डार निर्माण (निजी,सरकारी, सरकारी साझेदारीमा) (बागवानी विकास खर्च) मा  – १० लाख

-कृषि बजार तथा संकलन केन्द्र निर्माण (निजी, सहकारी, सरकारी) मा -२० लाख

-कृषि यान्त्रीकरणका लागि औजार उपकरण प्रयोग प्रवर्धन कार्यक्रम (बागवानी विकास खर्च) मा – ७० लाख

संघको ३ करोड २६ लाखको अनुदानमा पर्ने कार्यक्रम र रकम :

-कृषि विभाग प्राङ्गारिक कृषिप्रवर्धन मिशन कार्यक्रम (सशर्त अनुदान) मा एक करोड – ७० लाख

-पुरानो ब्लक विकास कार्यक्रमको निरन्तरतामा – ८१ लाख

-नयाँ ब्लक विकास कार्यक्रममा – ७५ लाख

इलाममा हाल पुराना ६ र नयाँ ३ गरेर ९ वटा ब्लक सञ्चालनमा रहेका छन् ।

यस अनुदानका लागि हरेक पालिकाका इच्छुक कृषक समूह, कृषि सहकारी संस्था, व्यवसायिक फर्म, कम्पनी, नीजी उद्यमी र व्यवसायीहरुले आगामी असोजको दोस्रो साताबाट आवेदन दिन पाउने बताइएको छ । प्रस्तावक संस्था वा निकायले एक मात्र बाली विशेषमा प्रस्ताव पेश गर्न पाउने कार्यालयले जानकारी दिएको छ ।

गत आर्थिक वर्षमा ११ करोड २० लाख २५ हजार रुपैँया अनुदान आएकोमा यो आर्थिक वर्षमा साढे पाँच लाख रुपैँया कम अनुदान आएको हो ।